पूर्वी नेपालको इलाम, झापा, तेह्रथुम, धनकुटा र पाँचथर जिल्ला चिया खेतीका लागि प्रख्यात रहेको छ।
पूर्वी पहाडी जिल्लामा अर्थोडक्स चियाको उत्पादन हुने गरेको छ भने तराईका जिल्ला  र झापामा भने सिटिसी चियाको उत्पादन भईरहेको छ। नगदे बालीको रुपमा परिचित इलामको अर्थोडक्स हरियो चियापत्तिको सरकारले न्यूनतम मूल्य तोक्न नसक्दा चिया खेती गर्ने किसान पेशा  परिर्वतन गर्ने सोचमा छन्।
चिया तथा कफी विकास बोर्डको समन्वयमा सिटिसी चियाको न्यूनतम मूल्य तोकिए भए पनि अर्थोडक्स चियाको मूल्य निर्धारण नहुँदा समस्या बल्झिएको हो।सरकारले चिया खेती सुरु भएको १ सय ५३ वर्ष हुँदासम्म पनि न्युनतम मूल्य तोक्न नसक्दा उद्योगी आफैले हरियो पत्तिको मूल्य र मजदुरको पारिश्रमिक तोक्दै आएका छन्।
उद्योगीले तोकेको पारिश्रमिक र हरियो चिया पत्तिको मूल्य थोरै भएको भन्दै किसान र मजदुरले सधै गुनासो गर्ने गरेका छन्।
किसानले आफ्नो उत्पादनको मूल्य आफै तोक्न पाउनु पर्ने माग गरिरहेका छन्। उद्योगी भने उत्पादित चियाको बजारीकरण हुन नसक्दा थोरै मूल्यमा व्यापार गर्नु परेकाले किसाले भनेजति मूल्य दिन नसकेको बताउँछन्। उत्पादन गरेको चियालाई सरकारले अन्तराष्ट्रिय बजारमा बेच्न नसघाएकोले किसानको माग सम्बोधन गर्न नसकेको उद्योगीको भनाई छ।
सरकारले चिया पकेट क्षेत्र घोषणा गरे पनि न्यूनतम मूल्य निर्धारण नगर्दा दुई पक्षबीच भाउ धेरै पाउनु पर्ने र दिन नसक्ने द्वन्द्वले चिया खेतीमै असर पुगेको छ। इलाममा मात्रै ८ सय ५ हेक्टर क्षेत्रफलमा चिया खेती फैलिएको छ। इलामका वार्षिकरुपमा ४१ लाख ४६ हजार २ सय ७२ किलो चिया उत्पादन हुने गरेको चिया तथा कफी विकास बोर्ड इलामले जनाएको छ।
चिया खेतीले राष्ट्रिय अर्थतन्त्रमा पुर्याएको योगदान अनुसार यो व्यवसायलाई राज्यले चासो नदिँदा खेती समस्यामा परेको इलामेली चिया उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद सुवेदी बताउँछन्। ‘चिया खेती सरकारको  प्राथमिकतामा नपर्दा समस्या सिर्जना भएको हो’, सुवेदीले भने, ‘यसको विकासका लागि सरकारले यो चिया उत्पादन र बजारीकरणलाई प्राथमिकता दिँदै न्युनतम मूल्य निर्धारण तथा मलखादमा अनुदान एवं. सहुलियत दिनु पर्छ।’
इलामस्थित मंगलबारे क्षेत्रका किसानले अहिलेको सिजनमा अर्थोडक्स चिया पत्तिको मूल्य ग्रेड अनुसार प्रति किलो करिब ४० देखि ५३ रुपैयाँ पाउने गरेका छन्। मल, गोडमेल, काँटछाँट, सिँचाइ, उपचार, ढुवानी बाहेक टिप्न मात्र प्रतिकिलो २० रुपैयाँ ज्याला खर्च लाग्ने भएकाले अहिले पाएको मूल्यको आधारमा लागत उठाउन हम्मे हम्मे परेको किसानको गुनासो छ।
‘साना किसानहरु आफैं चियाको प्रसोधन गर्न सक्ने अवस्थामा नभएकाले सबै उत्पादित चिया ठूला उद्योगीलाई बेच्न बाध्य छौं,’ सुवेदीले भने ‘उद्योगीले मूल्य नै दिँदैनन्, जसले गर्दा यहाँका किसानहरु चिया खेतीबाट पलायन हुने अवस्था छ।’
इलामका करिब २० हजार घरधुरी चिया खेतीमा संलग्न रहेको चिया तथा कफि क्षेत्र विकास कार्यक्रम इलामका प्रमुख रामएकल यादवले जानकारी दिए। इलाममा कूल ४८ हजार घरधुरी छन्। कुल चिया कृषकमध्ये ७ हजार साना किसान छन्।
यादवले भने, ‘इलामका अधिकांस किसानले अर्थोडक्स चिया उत्पादन गर्दै आएका छन्, उक्त चियापत्तिको भाउको मूल्य थोरै हुँदा किसान निरास देखिएका छन्।’ उद्योगीले अर्थोडक्स चिया अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्यमा बेचेर फाइदा लिँदा किसानले भने उत्पादन लागत अनुसार मूल्य नपाएको भन्दै भाउ बढाउनु पर्ने बताएका छन्।
इलामका किसान पासाङ शेर्पाले बगानमा रहेको चिया टिप्ने कि नटिप्ने दोधारमा रहेको सुनाए। ‘बजारमा भाउ राम्रो छैन, उनले सेतोपाटीसँग दुखेसो पोख्दै भने, ‘लागत मूल्य उठ्नै कठिन छ।’
देउमाया नगरपालिकाका किसान देब खत्रीले आफूहरु चियाबाट पलायन हुने अवस्थामा पुगेको बताउँछन्। ‘श्रमिक नपाएर पनि समस्यामा छौँ, उनले भने, ‘खर्च कटाएर १५ प्रतिशत नाफा कमाउन मुस्किल छ।’ दैनिक ज्याला करिब २ सय रुपैयाँमा कामदार लगाउँदा अर्गानिक चिया ७/८ किलो भन्दा टिप्न नसक्ने उनले बताए।
राष्ट्रिय चिया तथा कफि विकास बोर्ड मंगलबारेका अधिकांस चिया किसानको गुनासो यस्तै छ। २५ रोपनीमा चिया लगाएका किसान रमेश अधिकारीले किसानको मागलाई सरकारले बेवास्ता गरेको बताए । ‘सरकारले चियाको मूल्य निर्धारण गर्न वास्ता गर्दैन, उनले भने, ‘उद्योगीले सकेसम्म थोरै भाउ दिन खोज्छन्।’
चिया तथा कफी विकास बोर्डको समन्वयमा झापामा सिटिसी चियाको न्यूनतम मूल्य तोकेको भए पनि इलाममा अर्थोडक्स चियाको मूल्य निर्धारण नहुँदा समस्या बल्झिएको हो । उचित भाउ नपाउँदा नगदेबालीको रुपमा रहेको चियाबालीमा यहाँका किसान आकर्षण घटिरहेको बताउँछन्।
लागतको आधारमा किसानको मूल्य थोरै भएको उद्योगी पनि स्विकार गर्छन्। किसानले गुणस्तरीय पत्ति उत्पादन नगरेकोले चियाको भाउ कम भएको उद्योगीको भनाई छ। ब्रदर्श अर्थोडक्स टी प्रोडक्सनका राजु कटुवालले उद्योगीले एकआपसमा मिलेर भाउ तोक्ने गरेको बताए।
दार्जिलिङको चियासँगै अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसकेका कारण किसानलाई राम्रो मुल्य दिन नसकिएको उद्योगीहरु बताउँछन्। त्यसैगरी किसानले उत्पादन गरेको चियापत्ति अन्तराष्ट्रिय बजारमा गुणस्तरीय नभएको उद्योगीहरुको भनाई छ।
‘कोलकत्तामा दार्जिलिङको अर्थोडक्स चियाको मूल्य प्रतिकिलो २ हजार रुपैयाँ हुँदा नेपाली उद्योगीले उत्पादन गरेको चियालाई भने प्रतिकिलो ७ देखि ८ सय रुपैयाँ मात्रै दिइन्छ,’ मेची भ्याली चिया उद्योगका सञ्चालक विकेश प्रधानले भने।
‘सरकारी तहबाट मूल्य निर्धारण नभएकाले पत्तिको ग्रेड अनुसार पैसा दिन्छौँ’, उनले भने, ‘किसानले उचित मूल्य पाएका छैनन्।’ अर्थोडक्स चियाको मूल्य निर्धारणको विषयमा छलफल चलिरहेको चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले बताए।
 ‘उद्योगी र किसानबीच समन्वयन गरेर मूल्य निर्धारण गर्नुपर्छ भन्ने पक्षमा छौँ’ निर्देशक गौतमले भने, ‘अर्थोडक्स चियामा ब्राण्ड गर्न पहल भैरहेको छ।’ सरकारी कमजोरीले चियाको बजार व्यवस्थित हुन नसकेको किसान र उद्योगीको बुझाई छ। यहाँको चियामा ब्राण्डिङ नहुँदा अधिकांश उद्योगीले सस्तोमा भारतमा चिया बेचेकाले किसान ठगिएको बताउँछन्।
 पाथिभारा अर्थोडक्स चिया प्रशोधन केन्द्र साखेजुङका संचालक मोतिराम दाहालले इलामको अर्थोडक्स चियालाई सिटिसीको मूल्यमा किनेको बताए। ‘दुई सय वर्षको इतिहास भएको हाम्रो चियाको कुनै ब्राण्ड छैन’ उनले भने, ‘ब्राण्ड नहुँदा सित्तैमा भारतमा लगेर बेच्न बाध्य छौँ।’
अर्थोडक्स चियाको हरियो पत्तिमा उद्योगीले किसानलाई अधिकतम प्रतिकिलो ५३ रुपैयाँदेखि न्यूनतम ४० रुपैयाँसम्म दिँदै आएका छन्। लागत कटाएर मुस्किलले १५ प्रतिशत नाफा हुने किसानको भनाई छ। ‘नाफा त्यति थोरै हुन्छ, त्यै पनि चियामा ‘बाँझी’ पर्दा यो खेतीबाट हातमुख जोड्नै कठिन छ,’ किसान रामबहादुर तामाङले भने। चिया टिप्ने मजदुरलाई दैनिक ज्याला करिब २ सय रुपैयाँ दिनुपर्ने र उनीहरुले ७÷८ किलो मात्रै अर्गानिक चिया टिप्ने उनले सुनाए।
सेतोपाटी
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*