टेलिभिजन र इन्टरनेटको सहायताबाट सुरु गरेको बाख्रा तथा कृषि फार्म अहिले जिल्लाकै नमुना फार्म बन्न सफल भएको छ।
म्याग्दीको बेनी नगरपालिका– २ गौश्वारका युवा वीराज मल्लले इन्टरनेट र टेलिभिजन हेरेर सञ्चालन गरेको सिद्धबराहा बाख्रा तथा कृषि फार्म जिल्लाकै नमुना फार्मको रुपमा चिनिएको हो।
३९ वर्षीय मल्लले सञ्चालन गरेको फार्ममा नयाँ शैली, प्रविधि र संरचनाको प्रयोग हुनुका साथै जाडो याममा फाइबर टिन र गर्मी याममा हावा छिर्ने झ्यालको प्रयोग गर्ने गरिन्छ।
३० मिटर लम्बाइ र ५ दशमलव २ मिटर चौडाइ भएको खोरभित्र बाख्रा राख्ने ११ वटा छुट्टाछुट्टै कोठा रहेको सो फार्म अवलोकनका लागि जिल्लाभित्र र बाहिरबाट दैनिकरुपमा कृषक आउन थालेका छन्। मानिस बस्ने घरजस्तै सफासुग्घर रहेको फार्मभित्र ब्याउने बाख्रा, भर्खरै ब्याएका, तीन महिना पुगेका पाठापाठी, सोभन्दा साना पाठापाठी, बोका, माउ बाख्रा बस्ने छुट्टाछुट्टै कोठा रहेका छन्।
‘टेलिभिजन र इन्टरनेटमा विदेशका बाख्रा फार्म देखेको आधारमा सोही अनुसारको संरचना बनाएर बाख्रा पालेको बताउने मल्लले खोरलाई सरसफाइ, वातावरण अनुकूलित र व्यवस्थित बनाउन सकेमा रोगको समस्या धेरै कम हुने जानकारी दिए।
बाख्रामा कुनै रोगको समस्या देखिए लक्षणको आधारमा इन्टरनेटमा उपचार विधिको बारेमा खोजी गर्ने र कृषि प्राविधिकसँग टेलिफोनमार्फत परामर्श लिने गरेको मल्लले बताए।
प्रविधि र यन्त्र उपकरणको प्रयोगले मानवीय श्रम कम हुने तथा उत्पादन लागत घटाएर बढी मुनाफा गर्न सकिने मल्लको अनुभव छ । मल्लले फार्मका बाख्रा, खसीबोका सामाजिक सञ्जाल फेसबुक पेज र इन्टरनेटका माध्यबाट बेच्ने गरेका छन् । हाल मल्लको फार्ममा जमुनापारी, वित्तल र खरी जातका १५० वटा बाख्रा छन् । चारवर्ष अघि २७ वटा बाख्राबाट फार्म सुरु गर्नुभएका मल्लले अहिले बाख्रा र खसीबोका बेचेर मासिक रु ५० हजारको हाराहारीमा कमाइ गर्ने गरेका छन्।
साढे तीन वर्ष इराकमा काम गरेर गाउँ फर्कनुभएका मल्लले बाख्रा फार्म स्थापना र पूर्वाधार तयार गर्न हालसम्म रु २५ लाख लगानी भएको जानकारी दिए। यस व्यवसायमा आफूबाहेक थप पाँच जनालाई रोजगारीसमेत दिएको मल्लले बताए। रासस
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*