timthumb.phpयस वर्ष उदयपुर जिल्लाका पूर्वी क्षेत्रमा व्यावसायिक रुपमा केराखेती गर्ने कृषकले राम्रो उत्पादन लिन थालेका छन्।
जिल्लाको पूर्वी क्षेत्रको तपेस्वरी, भागलपुर, सुन्दपुर, हँडिया र जोगीदह क्षेत्रमा विगत वर्षहरुमा भन्दा यो वर्ष राम्रो उत्पादन भएको छ।
यस वर्ष विगतमा जस्तो केरामा गभारो किरा पनि नलागेको र हावाहुरीले पनि बोटलाई क्षति नगरेका कारण सुरुदेखि नै उत्पादन राम्रो रहेको हँडिया–५ का सुकाई चौधरी बताउँछन्।
अझ वर्षा राम्रो भएका कारण केराका बोट फस्टाउने र केराका घरीहरु पोटाउनेसमेत गरेका कारण पनि केरा उत्पादन बढ्ने देखिएको हो।
यता सुन्दरपुर–५ मा डेढ बिगाहा जग्गामा व्यावसायिक रुपमा केराखेती गर्दै आएका कृषक गोविन्द घिमिरे पनि यस पटक केरा उत्पादन राम्रो भएका कारण आय बढ्नेमा आशावादी देखिएका छन्।
केही महिना अघिदेखि आफूले फाटफुट मात्रै केरा बिक्री गर्दा पनि पचासौँ हजार रुपैयाँ आम्दानी गरिसकेको घिमिरेले बताए।
दसैँ, तिहार र छठमा सोचे जस्तै बिक्री भए एक लाख ५० हजारसम्म आम्दानी गर्ने सोचमा घिमिरे छन्।
यता, तपेश्वरी र भागलपुर क्षेत्र त उदयपुरको अत्यधिक केरा उत्पादन हुने क्षेत्र हुन् । यस वर्ष सुरुदेखि नै केरामा रोग नलागेको र चैत, वैशाख तथा जेठमा हावाहुरीले केराका बोटलाई असर नगरेका कारण केरा उत्पादन राम्ररी भइरहेको तपेस्वरी–३ का कृष्ण दुलालले बताए।
यस पटक दसैँ, तिहार तथा छठमा मात्रै जिल्लाका पूर्वी क्षेत्रका कृषकले करोडौँको केराको व्यापार गर्ने अवस्था रहेको जोगिदह–५ का केरा व्यवसायी कृषक जनकलाल चौधरीले बताए।
जिल्ला कृषि विकास कार्यालय उदयपुरका अनुसार यसपटक उदयपुरको पूर्वी क्षेत्रमा केरा उत्पादन राम्रो रहेको छ।
पूर्वी भेगमा रोगेस्टा, विलियम हाइब्रिड, मालभोग र चिनियाँ चम्पा जातिका केरा बढी उत्पादन हुने गरेको कार्यालयका प्रविधिज्ञ मोहनलाल फुयाँलले बताए।
स्थानीय जातका मर्चे, अटिया, कमिले झप्री जातका केरा पनि यहाँ उत्पादन हुने गरेका छन्।
उदयपुरमा हाल १४० हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ । जिल्लाको पूर्वी क्षेत्रमा मात्र झन्डै ७० हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको प्रविधिज्ञ फुयाँलले जानकारी दिए। रासस
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*