मोरङको मधुमल्लास्थित मिक्लुङ सामुदायिक वन क्षेत्रमा रहेको पोखरीलाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले पोखरी स्तरोन्नतिका लागि स्थानीय उपभोक्ता सक्रिय भएका छन्।
मधुमल्ला–५ मा रहेको कत्ले सिमसार पोखरीलाई सुन्दर र मनमोहक बनाउन स्थानीयवासी जुटेका हुन्। चालु आर्थिक वर्षमा उक्त सिमसार संरक्षणका लागि जिल्ला वन कार्यालय र जिल्ला भू–संरक्षण कार्यालयबाट करिब आठ लाख रुपैयाँ सहयोग भएपछि उपभोक्ता सिमसार संरक्षणमा उत्साहित भएका हुन्।
 सिमसार संरक्षणका लागि जिल्ला वन कार्यालयबाट तीन लाख रुपैयाँ र जिल्ला भू–संरक्षण कार्यालयबाट चार लाख ७६ हजार रुपैयाँ अनुदान सहयोग प्राप्त भएको मिक्लुङ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सन्तोष लावतीले जानकारी दिए।
भविष्यमा सिमसारलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरेर वनको आम्दानी बढाउने लक्ष्य रहेको अध्यक्ष लावतीले जानकारी दिए। पोखरीको डिलमा बाल उद्यान, पिकनिक स्पट, डुङ्गा सयर, विभिन्न पशुपक्षीसमेत संरक्षण गरेर पर्यटक भित्र्याउने योजना रहेको सदस्य वसन्त गौतमको भनाइ छ।
पञ्चवर्षीय योजना रहेको ‘कत्ले सिमसार क्षेत्र’ ५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । कत्ले पोखरीबाट पोखरीको आसपास हरियाली वन, पोखरीको बीचमा ठूलो सालको रूख, तीन कुनाबाट जरुवा पानी उम्रिने, कछुवा, हरिण, मृगलगायत जनावरहरु देख्न पाइने तथा सिमसार क्षेत्र आसपास आदिवासी समुदायको रहनसहन र संस्कृतिलाई अवलोकन गर्नसमेत पाइने समूहका अध्यक्ष लावतीले बताए। रासस
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*