लेखनाथ खतिवडा
timthumb.phpपाँचथरका गणेश चेम्जोङले सुख्खाग्रस्त क्षेत्र घोषित आफ्नो गाँउ स्यावरुम्बामा कफीको व्यवसायिक खेती थालेका छन्। कफी कृषकहरुको समूह निर्माण गरेर ३ हजार ७ सय विरुवा आफ्नो क्षेत्रमा रोपण गरिएको चेम्जोङको भनाई छ।
सुख्खाग्रस्त क्षेत्र भएका कारण उनले आकाशको पानी प्लाष्टिक पोखरीमा जम्मा गरेर कफीमा सिंचाई गर्ने व्यवस्था  मिलाएका छन्। उनी थप विरुवा रोप्ने तयारीमा छन्। चेम्जोङले प्राविधिकको सल्लाह अनुसार विरुवा सार्ने र हेरचाह गर्ने गरेका छन्।
लामो समय नेपाल राष्ट्र बैंक र गैरसरकारी संस्थामा काम गरेका तेह्रथुमस्थित इवाका इन्द्रकुमार इङ्नामले पनि कफीको व्यवसायिक खेती थालेका छन्। कृषकहरुको समूह नै निर्माण गरेर खेती थालिएको इङ्नामले बताए।
सक्रान्तिबजार गाविसका पुण्यप्रसाद अर्याल पनि कफी खेती गर्नेहरुमध्येकै एक हुन्।  शिक्षक पेशामा रहेका उनले कफी खेतीलाई आर्थिक उपार्जनमा सघाउ पुग्ने अपेक्षाका साथ अघि बढाएका छन्।
कफी खेतीमै जुटेका पाँचथर बहुमुखी क्याम्पसका प्राध्यापक दुर्गाप्रसाद बराल सामुहिक रुपमा यो खेतीलाई अगाडि बढाउनुपर्ने बताउँछन्। उनी भन्छन् ‘बजार खोज्न सकियो भने कफी खेतीले राम्रो आम्दानी दिने रहेछ।’
हालै पाँचथर र तेह्रथुम जिल्लामा १९ कफी कृषक समूह बनाई २ कफी कम्पनी मार्फत व्यवसायिक कफी खेती सुरु भएको छ। पाँचथरका थर्पू, नागी, सुभाङ, माङ्जाबुङ, फाक्तेप, रानीगाँउ, स्याबरुम्बा र सराङडाँडा गाविस तथा फिदिम नगरपालिकामा मात्रै १६ कफी कृषक समूह मार्फत कफीको व्यवसायिक खेती सुरु भएको हो।
यस्तै पाँचथरको रानीगाउँमा रहेको उत्तम कफी तथा फलफूल उत्पादन केन्द्र मार्फत कफीको व्यवसायिक खेती सुरु भएको छ। यस क्रममा हाल सम्ममा झण्डै ४ लाख विरुवा रोपिएको छ।
कफी प्राविधिक हरिप्रसाद दाहालका अनुसार आगामी वर्षसम्ममा पाँचथरमा मात्रै ३ लाख कफीका विरुवा हुर्कने छन्। रोपिएका सबै विरुवा नसर्ने भएका कारण ३ लाख बढी विरुवा हुर्कन थाल्ने दाहालको अनुमान छ।
लामो समयदेखि पूर्वी पहाडमा कफी रोपणमा प्राविधिक सहयोग गर्दै आएका दाहालले भने ‘कफी खेती गर्न कृषकहरु उत्साहित रहेको पाइएको छ, विश्वमा अर्गानिक कफीको माग अत्याधिक रहेकाल उत्पादित कफीले राम्रो मूल्य पाउनेमा शंका छैन।’
पाँचथरको रानीगाँउमा उत्तम कफी तथा फलफुल केन्द्रको स्थापना गरी विरुवा उत्पादन गरेर कफी खेतीलाई व्यवसायिक बनाउन जग बसाएका पुण्य चौलागाईंका अनुसार पूर्वी पहाडका इलाम, पाँचथर, तेह्रथुम र ताप्लेजुङका विभिन्न ठाउँमा कफीका विरुवाको माग बढेको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कफीको विरुवा उमार्नदेखि रोप्नसम्म प्राविधिक सहयोग पु¥याएकाले व्यवसायिक खेतीका लागि कफी रोप्न कृषकहरु लालायित देखिएको चौलागाईंले बताए।
बिरुवा रोप्ने किसानलाई उत्पादित कफी बिक्री गर्ने आश्वासन समेत चौंलागाईंले दिलाउने गरेका छन्। राष्ट्रिय चिया तथा कफी विकास बोर्ड तथा अन्य विदेशी संघ संस्थाहरुसँगको कुराकानीबाट कफीको ठूलो बजार रहेको र यहाँ उत्पादित कफीलाई विक्री गर्न सकिने सुनिश्चितताका आधारमा कफी खेतीको अभियान थालिएको चौलागाईंको भनाई छ।
पछिल्लो पटक तेह्रथुमका कफी कृषकलाई जिल्ला कृषि विकास कार्यालयले प्राविधिक सहयोग प्रदान गर्न थालेको छ। यस्तै तेह्रथुमको सक्रान्तिबजारमा रहेको नेपाल बङ्गलादेश बैङ्कले उक्त क्षेत्रका कृषकलाई तालिम दिन सहयोग गर्न थालको छ।
यस वर्ष मात्र पूर्वी पहाडका २ लाख कृषकले ५० प्रतिशत अनुदानमा कफीका विरुवा प्राप्त गरेको बोर्डले जनाएको छ । २५ देखि एक सय जना सम्म सम्लग्न कृषक समूहहरुको आँकडाले पनि पूर्वी पहाडमा कृषकको आकर्षण कफी खेतीमा रहेको देखाएको छ।

 

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*