गरे के सम्भव छैन ? पसिना बगाए स्वदेशमै पनि मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने उदारण बनेका छन् बनेपा १० का भोजराज तिमल्सिना । उनले एक करोड रुपैयाँ लगानीमा व्यावसायिक पुष्प खेती गर्दै आएका छन् । सामान्य परिवारमा जन्मिएका तिमल्सिनाले एक करोड एक लाख ७३ हजार रुपैयाँ लागतमा १६ रोपनी क्षेत्रफलमा व्यावसायिक पुष्प खेती गर्दै आएको बताए ।

‘निम्नवर्गीय परिवारमा जन्मे पनि व्यापार गर्ने लक्ष्यलाई कहिल्यै गरिब बनाइन’, उनले थपे ‘आफैमाथि विश्वास, भरोसा र आट हुनुपर्ने रहेछ ।’ सानै उमेरदेखि व्यापार व्यवसायमा रुची रहेको बताउने तिमल्सिना साथी र श्रीमतीको सहयोगले सफलता मिलेको बताउँछन् । ‘मैले साथीभाइ र परिवारको साथमा रहेर मातृभूमिमै रगत पसिना बगाउन चाहन्छु । रोजगारीका लागि बिदेसिनुभन्दा फूलखेती गर्नु नै उत्तम विकल्प रोजेँ’, उनले भने, ‘एघार वर्षदेखि व्यावसायिक रूपमा फूलखेती गरेँ ।

सुरुमा एक रोपनी क्षेत्रफलमा बासको टहरामा सुरु गरेको फूलखेतीबाट निरन्तरता दिएर फूलबारी कृषक समूह दर्ता गरी करिब एक करोड लगानीमा फूलखेती गरेको छु ।’ जिल्लामा नमुना कृषकको रूपमा कहलिएका तिमल्सिनाको परिवारसहित सात जनालाई रोजगारी दिएका छन् । उनले वार्षिक ४० लाख रुपैयाँभन्दा बढीको पुष्प उत्पादन तथा बिक्री वितरण गर्दै आएका छन् । सुरुको अवस्थामा फाइदा नभए पनि पछि खर्च कम र नाफा बढी हुने उनले बताए ।

‘मुलुककै सबैभन्दा ठूलो बजार काठमाडौं उपत्यका नजिक भएकाले कृषक र व्यवसायी हौसिएका छन्’, उनले भने । कृषक तिमल्सिनाले जिल्लामा फूल उत्पादन भए पनि लामो समयसम्म भण्डारण गर्न नसक्दा समस्या भएको बताए । ‘केही दिनमै फूल ओइलाउने र सुक्ने भएकाले बेसिजनमा समस्या हुने गरेको छ’, उनले थपे, ‘यदि भण्डारण गरी राख्न सकेमा घाटा कम हुनुका साथै बेमौसममा पनि बजारअनुसार खपत गर्न सकिन्छ ।’

तिमल्सिनाले व्यावसायिक फूलको उत्पादन तथा बजारीकरण गर्न प्याक्टको सहयोगमा लाखौं रुपैयाँ सहयोग समेत प्राप्त गरेका छन् । फूल फार्मले पुष्प उत्पादन तथा बिक्रीवितरण गर्ने, पुष्प बजारको विस्तार गर्दै समूहको आर्थिकस्तर माथि उठाउने कामसमेत गर्दै आएको आयोजनाका व्यवस्थापक श्रवणकुमार आर्चायले बताए ।

जिल्लामा व्यावसायिक रूपमा फूलखेती गर्दै आएका किसानलाई बजारीकरणमा सहयोग गर्न उद्योग वाणिज्य संघ काभ्रेले सहयोगको योजना बनाएको उद्योग वाणिज्य संघ काभ्रेको अध्यक्ष सुरकृष्ण वैद्यले बताए । ‘राजधानीबाट नजिक भएकाले पुष्प व्यवसायका लागि काभ्रे सम्भावना बोकेको जिल्ला हो । यसलाई विस्तार गर्दै लैजाने हाम्रो लक्ष्य छ ।’

जिल्ला कृषि विकास कार्यालयले व्यावसायिक फूलको उत्पादन तथा बजारीकरणसँगै काभ्रे फूलमा आत्मनिर्भर भएको बताउँछ । ‘पछिल्लो समय किसान पुष्पखेतीप्रति आकर्षित भएसँगै जिल्लाबाट उत्पादित पूmल राजधानीमा खपत हुन थालेको छ’, जिल्ला कृषि कार्यालयका कृषि अधिकृत थर्क जिसी भन्छन्, ‘केही वर्ष अघिसम्म सौखका रूपमा सुरु भएको फुलखेतीमा काभ्रे आत्मनिर्भरको चरणमा पुगेको छ ।’

उनले थपे, ‘विवाह र धार्मिक कार्यक्रममा आवश्यक पर्ने फूलको चर्चा राजधानीको बजारमासमेत हुन थालेको छ । पुष्पखेती विकासका लागि किसानलाई कअर्षित गर्न केही बजेटसमेत छुट्टाएका छौं ।’ जिल्ला कृषि विकास कार्यालयका अनुसार काभ्रेमा करिब दुई दर्जन फार्मले व्यावसायिक रूपमै फूलखेती गर्दै आएका छन् । जिल्लाको साविकको उग्रतारा जनागाल, धुलिखेल, महेन्द्रज्योति बाँसडोल, नासिकास्थान, साँगा, पाँचखाल, मंगलटार, दोलालघाट क्षेत्रमा व्यावसायिक रूपमा फूलको खेती हुन थालेको छ ।

पछिल्लो समय काभ्रेबाट सयपत्री, गोदावरी, लिली फूलसमेत राजधानी जान थालेको छ । राजधानीमा आवश्यक रहेको कट फ्लावर जातका ग्लाडिओलस, गुलाफ, कार्नेसन, जर्बेरा अर्किडजस्ता फूलको मागको २५ प्रतिशत योगदान काभ्रेले गरेको कृषकको दाबी छ । फूलको कारोबारबाट जिल्लामा वार्षिक तीन करोड भित्रिने गरेको जिल्ला कृषि विकास कार्यालय धुलिखेलको तथ्यांकमा उल्लेख छ ।अन्नपुर्ण पोष्ट बाट

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*