timthumb (3)कम लागतमा उत्पादन बढाउन कृषिमा उन्नत प्रविधिको प्रयोग बढ्दो छ।
किसानले परम्परागत सीप, प्रविधिको ठाउँमा आधुनिक यन्त्र, उपकरणको प्रयोग गर्न थालेका छन् । खाद्यन्न, तरकारी, फलफूललगायत कृषि बालीलाई यान्त्रिकिकरण गर्ने क्रम बढेको छ । कृषि औजार, उपकरणमा सरकारी अनुदान पाएपछि किसान त्यसतर्फ आकर्षित बनेका हुन्।
जिल्लाभर करिब डेढसय यान्त्रिक हलो (मिनि टिलर) वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयका कृषिप्रसार अधिकृत विप्लब अधिकारीले जानकारी दिए। चालु आवमा थप एक सयभन्दा बढी यान्त्रिक हलो अनुदानमा वितरण गर्ने कार्यक्रम छ ।  ५० हजार पर्ने ‘मिनि टिलर’ किसानले ५० प्रतिशत अनुदानमा पाउने गरेका छन्।
व्यावसायिक कृषि गर्ने व्यक्ति, समूह, सहकारीलाई अनुदानमा औजार, उपकरण प्रदान गर्ने गरिएको अधिकारी बताउँछन्। कृषि कार्यालयले वार्षिक कार्ययोजनामार्फत सीप, क्षमता र प्रविधि हस्तान्तरण तथा विकासका कार्यक्रम चलाउँदै आएको छ। कार्यालयले पाँच वर्षअघि नमुनाको रुपमा ‘मिनि टिलर’ जिल्लामा प्रवेश गराएको हो।
भूकम्पपीडित किसानलाई भने ९० प्रतिशत अनुदानमा ‘मिनि टिलर’ प्रदान गरिने भएको छ । कम लागत र जनशक्तिको प्रयोग गर्दै कृषि उत्पादन बढाउने उद्देश्यले कृषिको यान्त्रिकरणमा जोड दिइएको हो । ‘कार्यालयले मात्रै यान्त्रिकरणको लागि सबै काम गर्न सक्दैन,” अधिकारीले भने।
परम्परागत कृषि प्रणालीलाई सुधारेर आधुनिक कृषि प्रणालीलाई अवलम्बन गराउन यान्त्रिकरणको आवश्यकता परेको उहाँको भनाइ छ । कार्यालयले खाद्यन्न बालीतर्फ गहुँ, धान चुट्ने थ्रेसर, मकै छोडाउने कर्न सेलर, उन्नत खालको अन्न भकारी, सुपर ग्रीन ब्याग समेत किसानलाई वितरण गर्दै आएको छ। यस्तै, तरकारी बालीतर्फ आरा, करौंती, सिकेचर, हजारीलगायत औजार समेत उपलब्ध गराएको छ।
यस्तै आधुनिक मौरी घार, महदानी, पञ्जा, टोपीलगायत सामग्री समेत अनुदानमा वितरण गरिएको छ । किसानले कृषि उपकरणमा ५० प्रतिशतदेखि ९० प्रतिशतसम्म अनुदान पाउने गरेका छन्। काम छिटो, छरितो र सहज तथा लागत र जनशक्ति पनि कम लाग्ने भएपछि किसान यान्त्रिकरणतर्फ आकर्षित भएका हुन्।
“चार हल गोरुले जोत्ने खेत एउटै यान्त्रिक हलोले जोत्ने गरेको छ,” अधिकृत अधिकारीले भने। परम्परागतखेती प्रणालीबाट उब्जाउ कम हुने र लगानी बढी लाग्ने हुँदा कृषिमा यान्त्रिकरण आवश्यक भएको किसान बताउँछन् । रासस
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*