timthumb.phpम्याग्दीमा कृषि उपज निकासीबाट एक वर्षको अवधिमा  ३३ करोड रुपैयाँ आम्दानी भएको छ ।
आर्थिक वर्ष २०७२÷७३ मा  कृषकले आठ हजार १५९ मेट्रिक टन कृषि विभिन्न उपज निकासी गरेर  ३३ करोड ४६ लाख ४५ हजार रुपैयाँ आम्दानी गरेका हुन् ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार राम्चे, हिस्तान, शिख, घारलगायतका गाविसमा उत्पादन भएको चार हजार ७१८ मेट्रिक टन आलु निकासीबाट १९ करोड ३९ लाख छ हजार आम्दानी भएको थियो ।
बास्कुना, मरेक, बरञ्जा, देवीस्थान, बिम, दोसल्ले, घार, भुरुङ तातोपानी र नारच्याङबाट ६ करोड ७२ लाख बराबरको एक हजार ५ सय मेट्रिक टन सुन्तला निकासी भएको थियो ।
यसैगरी रत्नेचौर, घतान, सिंगा, राम्चे, हिस्तानलगायतका स्थानबाट ७ करोड ३५ लाख ३४ हजार बराबरको एक हजार ९ सय ४१ मेट्रिक टन गोलभेँडा, बन्दा, काउली, काँक्रो, घिरौला, भन्टा, खुर्सानी, सिमी, मुला, साग, धनियाँ, बोडीलगायतका तरकारी निकासी भएको थियो ।
म्याग्दीको कृषि उपज पर्वत, बागलुङ, चितवन, काठमाडौँ, मुस्ताङ र पोखरामा निकासी हुने गरेको कार्यालयका योजना अधिकृत ज्योति क्षेत्रीले बताए।
गत आवमा जिल्लामा  ४६ करोड ५८ लाख ८२ हजार मूल्य बराबरको ११ हजार ६६० मेट्रिक टन सुन्तला, तरकारी, अदुवा, कफी, केरा, मह, आलु, माछा र च्याउको व्यापार भएको थियो ।
अघिल्लो आवमा  ४५ करोड ६३ लाख २४ हजार बराबरको कृषि उपज उपज निकासी हुँदा  २५ करोड २८ लाख ७० हजार बराबरको आम्दानी भएको थियो ।
व्यावसायिक खेती विस्तारले यहाँ रोजगारी सिर्जना, उत्पादन वृद्धि, आयात प्रतिस्थापन र कृषकको आर्थिकस्तरमा पनि सुधार आएको छ ।
रत्नेचौरका कृषक नीरबहादुर थापाले गोलभेँडा बिक्री गरेर एकैदिन  १८ हजारसम्म आम्दानी भएको बताए। “बजारको माग र आवश्यकता पहिचान गरेर उत्पादन गर्न सकेमा तरकारीले राम्रो बजार र मूल्य पाउँछ” थापाले भने।
म्याग्दीको दुई हजार ८६६ हेक्टर क्षेत्रफलमा व्यावसायिक खेती हुने गरेको छ ।
व्यावसायिक खेतीबाट म्याग्दीमा एक हजार ३०३ जनाले नियमित र ३० हजार ५२३ जनाले मौसमी रोजगारी पाएका छन् । ग्रामीण बस्तीमा सडक विस्तारसँगै यातायातको सुविधा र बजारमा पहुँच बढेपछि कृषि उपजले बजार पाएको हो ।
म्याग्दीलाई तरकारीमा आत्मनिर्भर बनाउन आलु र सुन्तलाखेती विस्तार एवम् बजार प्रवद्र्धनमा प्राथमिकता दिइएको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताए। रासस
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*