इलाम
फाकफोकथुम गाउँपालिका–२ का रूद्रबहादुर थापाले गाउँमै व्यावसायिक गाईपालन सुरु गरेका छन्।  थापाले मिलन गाईफार्म दर्ता गरेर  १२ लाखको लागतमा गाईपालन व्यवसाय थालेका हुन्। पाँच माउ गाईबाट व्यवसाय थालेका उनले यसअघि डेरी उद्योग सञ्चालन गरेका थिए।
उनले  एक लाखका दरले गाई खरिद गरेका हुन्।  होलिस्टिन जातका गाईले दैनिक १२ देखि १५ लिटरसम्म दूध दिने गरेका छन् । विसं २०६० देखि नै डेरी उद्योग व्यवसाय सञ्चालन गरेका थापाले अहिले आफ्नो गोठ र गाउँका कृषकको गरी दैनिक ३५० लिटर दूध प्रशोधन गर्छन्।
गाईभैँसीलाई कुँडो, खोलेपानी, घाँस पराल गर्ने कामदारलाई उहाँले मासिक  १५ हजार पारिश्रमिक दिएका छन्।
‘विदेशमा कमाइने पैसा यही आर्जन गर्न सकिन्छ,’ उनले भने।
उनको डेरी उद्योगबाट उत्पादित घ्यू, छुर्पी झापाको बिर्तामोडमा बिक्री हुन्छ । यहाँको छुर्पी कुकुरको आहाराका लागि अमेरिकासम्म पुग्न थालेको छ । गाउँबाटै छुर्पी प्रतिकिलो  ८०० र घ्यू  ५०० मा बिक्री हुन्छ ।
पछिल्लो समय यहाँको गाउँ गाउँमा डेरी उद्योग सञ्चालनमा आएका छन् । फाकफोकथुम–२ का किशोर शर्माले पाँच माउ गाईपालनसँगै डेरी उद्योग सञ्चालन गरिरहेका छन्। दुई वर्षदेखि व्यवसाय सञ्चालन गरिरहेका शर्मा गाउँमै मनग्य आम्दानी गर्न सफल भएका छन्। मासिक  २० हजारदेखि २५ हजारसम्म आम्दानी हुने गरेको शर्मा बताउछन्।
जिल्ला पशुसेवा कार्यालयले व्यवसाय सञ्चालन गर्न युवाका लागि अनुदानको व्यवस्था गरेको छ । जिल्लामा दैनिक ५० हजार लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको जिल्ला पशुसेवा कार्यालयका प्राविधिक डिकबहादुर कार्कीले बताए। रासस
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*