त्रिभुवन विश्वविद्यालय ग्रामीण विकास विभागका प्रमुख प्रा.डा. प्रेम शर्मा गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)का मुख्य सल्लाहकार हुन् । गाउँ पर्यटन प्रवद्र्धनका सिलसिलामा स्वयं पर्यटक बनेर नेपालका ७४ जिल्ला भ्रमण गरिसकेका प्रा.डा. शर्माले नेपालमा ग्रामीण पर्यटन प्रवद्र्धनका उपायलाई यसरी प्रस्तुत गरेका छन् :

प्रा.डा. प्रेम शर्मा मुख्य सल्लाहकार गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)

प्रा.डा. प्रेम शर्मा मुख्य सल्लाहकार गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)

नेपाल विश्वभरका पर्यटकको आकर्षक गन्तव्य हो । सगरमाथा, लुम्बिनी, पशुपतिनाथजस्ता प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदा पर्यटक लोभ्याउने मुख्य माध्यम हुन् । नेपालको पर्यटन प्रवद्र्धन र बजारीकरण गर्न लामो समयदेखि यी सम्पदालाई नै उपयोग गरिएको छ । तर, नेपालमा पर्यटक आकर्षित गर्ने अन्य धेरै माध्यम छन् । त्यसको पहिचान गर्न सकिएको छैन । हिन्दू धर्म र सम्पदामा धनी मुलुक हुँदाहुँदै पनि यसलाई उपयोग गरी धेरै पर्यटक भित्र्याउने वातावरण बनाउन सकिएको छैन । यस अवस्थामा ग्रामीण क्षेत्रमा लुकेर रहेका पर्यटकीय सम्पदा, संस्कृति र वस्तुको अन्तर्राष्ट्रिय प्रचारप्रसार गर्दै नवीनतम पर्यटकीय गन्तव्यको विकास गर्न गाउँ पर्यटन एक प्रभावकारी संयन्त्र बन्न सक्छ ।

नेपालमा गाउँ पर्यटनबारे स्वयं सरोकारवालालाई पनि पर्याप्त जानकारी छैन । राज्यको उपस्थिति त अझै कमजोर रहेको छ । गाउँ पर्यटनको सबैभन्दा वैज्ञानिक उपाय होमस्ेट हो । होमस्टेमा पुगेको पर्यटकले आयातीत वस्तु उपयोग गर्नुपर्ने, विदेशी परिकार खानुपर्ने अवस्था आयो भने त्यो होमस्टे असफल हुन्छ । त्यसैले गाउँ पर्यटन गर्न वास्तविक संस्कृति, रहनसहन, चालचलनलाई पर्यटकले नजिकबाट नियाल्न सक्ने, घरमा आफ्नै हातले बनाएका स्थानीय परिकार चाख्ने र स्थानीय मौलिक गीतसंगीतमा रमाउने वातावरणसहितको होमस्टेको अवधारणाको विकास गर्नुपर्छ । यसरी जान सकियो भने गाउँ पर्यटनले फड्को मार्न सक्छ ।

भारतबाट ठूलो संख्यामा हिन्दू धर्मावलम्बी नेपालका धार्मिक सम्पदामा दर्शनका लागि आउन चाहन्छन् । विभिन्न मेलापर्व र धार्मिक उत्सवका अवसरमा पनि भारतीय पर्यटक नेपाल आएका हुन्छन् । मुक्तिनाथ, जनकपुर, पशुपतिनाथ दर्शन गर्न नेपाल आएका पर्यटकलाई केही समय नेपालभित्रै राख्ने वातावरण गाउँ पर्यटन प्रवद्र्धनमार्फत सम्भव छ । तर, त्यसप्रति हामीले चासो दिएका छैनौँ । रामजानकी महोत्सवका वेला जनकपुर आउने भारतीय पर्यटक केवल त्यहाँ फोहोर गर्न मात्र आउँछन् भन्ने मान्यता स्थानीयको छ । त्यहाँबाट प्रतिनिधित्व गर्ने एकजना राजनीतिक व्यक्तिबाटै यो कुरा बाहिर आएको थियो । तर, नेपाल आउने तीर्थयात्री र पर्यटकबाट कसरी बढीभन्दा बढी लाभ लिने भन्ने सवाल स्वयं स्थानीयको क्रियाशील व्यवहारमा भर पर्छ । स्थानीय प्रशासन, लाभान्वित जनता र पर्यटन व्यवसायी सबैले पर्यटकको चाहना बुझेर त्यसअनुसारका गतिविधि सञ्चालन गर्ने हो भने मात्र पर्यटक आकर्षित हुनेछन् ।

अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालका स्थानीयहरू पर्यटकमैत्री छन्, हाँसेर बोल्छन्, पहुनालाई भगवान्सरह मान्छन् भन्ने मान्यता स्थापित छ । त्यसकारण पर्यटक लोभ्याउने एक माध्यम मानिसको व्यवहार र आतिथ्य सत्कार पनि हो । स्थानीय स्तरमा पुगेका पर्यटक मौलिक संस्कृतिमा रमाउन चाहन्छन्, रीतिरिवाज नजिकबाट हेर्न चाहन्छन् । स्थानीय परिकार चाख्न चाहन्छन् । स्वतन्त्र वातावरणमा प्रकृतिसँग रमाउन चाहन्छन् । यो वातावरण हामीले बनाइदिनुपर्छ । त्यसवेला एकपटक नेपाल आएको पर्यटक पटक–पटक नेपाल आउन आकर्षित हुनुका साथै उसले अरूलाई पनि सो स्थानमा लैजान प्ेररित गर्छ । आतिथ्य केवल अन्तर्राष्ट्रिय पर्यटकका लागि मात्र होइन, आन्तरिक पर्यटकमा पनि लागू हुनुपर्छ । आन्तरिक पर्यटन यस व्यवसायको प्रमुख आधार हो । सेवा सुविधाका हिसाबले आन्तरिक र बाह्य पर्यटकका बीचमा भेदभाव गर्नुहुँदैन ।

असारे हिलोमा रमाउँदै पर्यटक रोपाइँ जात्रामा सहभागी भएको हामीले देखिरहेका छौँ । होली पर्वमा पनि पर्यटक रमाइरहेका देखिन्छन् । यसै सिलसिलामा गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)ले रोपाइँ जात्रासँगै काठमाडौं उपत्यकानजिकका स्थानमा कोदो रोपाइँ जात्रासमेत आयोजना गर्न थालिसकेको छ । यी हाम्रा मौलिक रीतिरिवाज हुन् । एक स्थानका पर्यटकले अर्को स्थानमा अन्नबाली उब्जाउने, पकाउने, खाने, परम्पराबारे जान्न उत्सुक देखिन्छन् । यसलाई पर्यटकीय प्याकेजका रूपमा बेच्न सकियो भने त्यसले स्थानीय जनता, व्यवसायी र समग्रमा राज्यलाई लाभ पुग्छ । गाउँ पर्यटनलाई हामेस्टेको अवधारणमा जाने र प्रत्येक होमस्टेले आफ्नो मौलिकपनलाई जोगाइराख्नु जरुरी छ ।

नेपाल बहुजाति र बहुभाषा भाषाभाषी भएको मुलुक हो । जातजातिपिच्छे फरक–फरक भाषा बोलिन्छ भने फरक–फरक पहिरन लगाइन्छ । अन्तर्राष्ट्रिय संस्कृतिको प्रभावपछि पछिल्लो समय मानिसले मौलिकपन बिर्संदै गएका छन् । गुरुङ, मगर या थारू समुदायले चलाएको होमस्टेसम्म पुग्ने पर्यटकले उनीहरूको मौलिक पोसाक, भाषा तथा नाचगान हेर्न चाहन्छन् । नेपालमा सञ्चालनमा रहेका कतिपय होमस्टेले मौलिक सांस्कृतिक कार्यक्रमको प्रस्तुति देखाउन अलग्गै पैसा लिने गरेका छन् । पर्यटकको सेवाबापत लिने अन्य शीर्षकको मूल्य बढाएर भए पनि मौलिक नाचगान र संस्कृति नि:शुल्क देखाउने व्यवस्था गर्दा पर्यटकमा सकारात्मक प्रभाव पर्छ । होमस्टे सञ्चालकले यसतर्फ ध्यान दिनुपर्छ । गाउँघरमा लुकेर बसेका संस्कृतिलाई बाहिर नल्याएसम्म त्यसको प्रचार–प्रसार हुँदैन । हामीले दलित तथा जनजातिको संस्कृतिलाई मौलिक संस्कृतिका रूपमा मान्यता दिएका छौँ । यहीकारण परम्परागत खैँजडी–मजुरा बजाएर ब्राह्मण, क्षेत्री समुदायले नाच्ने गाउने भजन पनि त हाम्रो मौलिक संस्कृति हो, यसतर्फ किन ध्यान नदिने ?

कुनै पनि स्थानमा होमस्टे खोल्दैमा पर्यटक आउँछन् भन्ने ग्यारेन्टी छैन । त्यसकारण होमस्टे खोलिएको स्थान आसपास कुनै न कुनै पर्यटकीय स्थल रहेको हुनुपर्छ या त्यस रूपमा विकास गरिएको हुनुपर्छ । यही स्थानलाई प्रचारप्रसार गरेर आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न सकियोस् । होमस्टे खोल्दा अनावश्यक तकडभडक आवश्यक छैन । स्थानीय रूपमा उपलब्ध स्रोतसाधनको प्रयोग गरेर पर्यटकलाई गुणस्तरीय सेवा दिनेतर्फ ध्यान दिनुपर्छ । कुनै पनि स्थानमा पुगिसकेपछि पर्यटकले चिनोका रूपमा स्थानीय उत्पादन खरिद गर्न चाहन्छ । त्यो वेला आयातीत सामान राखिएको भेट्टिएमा त्यसको नकारात्मक सन्देश जान्छ । स्थानीय स्तरमा स्वदेशी सीप–साधन प्रयोग गरी बनाइएका खुर्पेटो, डालो, नाङ्लो, नाम्लो, टोपी, गलबन्दीजस्ता सामग्री राखिनुपर्छ । यस्ता सामग्रीका नमुनाहरू बनाएर बेच्न सकियो भने अतिरिक्त आम्दानी हुनुका साथै मौलिक सीप र सामग्रीको संरक्षणमा सहयोग पुग्छ । पर्यटकलाई आँखा, छाला, जिब्रो र बास्नाले आकर्षित गराउन सकियो भने त्यो फेरि फर्केर पक्कै आउनेछ ।

नेपालमा ग्रामीण पर्यटनको प्रारम्भ भएको लामो समयपछि सरकारले गाउँ पर्यटनसम्बन्धी निर्देशिका ल्याएको हो । यसको मतलब पर्यटन व्यवसायको नेतृत्व निजी क्षेत्रले नै गर्नुपर्छ । अहिले भिटोफमार्फत नयाँ–नयाँ गाउँलाई पर्यटकीय गाउँका रूपमा विकास विस्तार गर्ने काम भइरहेको छ । त्यसको प्रवद्र्धन प्रचारप्रसार गर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटक पुर्‍याउने काम पनि भिटोफमा आबद्ध व्यवसायीमार्फत भइरहेको छ । यो सकारात्मक कार्य हो । पछिल्लो समय पर्यटनसँग सम्बन्धित अन्य संघसंस्था पनि गाउँ पर्यटनतर्फ आकर्षित भएको पाइएको छ । विभिन्न स्थानमा खुलेका होमस्टेलाई पर्यटकीय प्याकेजका रूपमा बेचेर पर्यटक आकर्षित गर्न थालिएको छ । गाउँ पर्यटनले समग्रमा नेपाल चिनाउन सहयोग गरिरहेको छ ।

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*