Amirt-Nath-timilsina


नेपाली समाज राजनीतिक र सामाजिक विकासका हिसावले अपेक्षनुसार अगाडि बढ्न नसकेपनि तुलनात्मक रुपमा विकसित भईरहेको छ । तर राजनीतिक र सामाजिक विकासको तुलनामा आर्थिक विकास र समृद्धिको कोणबाट अपेक्षित बढ्न सकेको छैन । आधुनिक नेपालको विकासको चरणलाई ००७ साल पछिको कोणबाट हेर्दा आम नागरिकका अपेक्षाहरुका कार्यसूची बदलिएका छन् । नेपाली समाजलाई ००७ साल देखि ०७० सालसम्मको अवस्थामा विभिन्न चरणबाट राजनीतिक र सामाजिक ढंगबाट विकास भएको देख्न सकिन्छ । शैक्षिक संस्थाहरुको स्थापना र विकास, योजनाबद्ध विकासको थालनी, भौतिक निर्माण तथा सुधार, जनअपेक्षाअनुसारको राजनीतिक व्यवस्था, आर्थिक विकासका मोडालिटीहरु लगायतका कोणबाट यो आधा सताव्दीलाई निकै सुधार र विकासको अवस्थाको रुपमा लिन सकिन्छ । यो अवधिलाई आर्थिक कोणबाट हेर्दा जोडिएका छिमेकी मुलुकहरुसंगको तुलनामा निकै पछाडी भएको छ । उपनिवेशमा रहेका मुलुकहरुले स्वतन्त्र भएपछि गरेका विकासहरु भन्दा पनि स्वतन्त्र नेपालले आर्थिक विकासमा प्रगति गर्न नसकेको विषय भने राष्ट्रिय चिन्ता मात्र नभै अन्तर्राष्ट्रिय चासोको विषय पनि बनेको छ ।
विशेषतः पुँजीवादी विकासको दृष्टिले हेर्दा पनि विकासको अन्तरको गती तीव्र बृद्धिमा छ । यसले नेपाल र छिमेकी मुलुकहरुको बीचमा आर्थिक विकासको अन्तर व्यापक छ । विश्व बजारमा आफूलाई आर्थिक महाशक्तिको रुपमा विकास गरेको अमेरिका, चीन, जापान, बेलायत लगायतका विकसित मुलुकहरुले समेत आफ्नो देशमा भएको प्रविधि, उपकरण, उद्योगधन्दा तथा सामाजिक स्रोत र शक्तिको व्यवस्थापन सन्तुलित रुपमा लैजान नसक्दा आर्थिक असन्तुलन सिर्जना भएको देखिन्छ । केही वर्षको अन्तरालमा बेलायत र अमेरिकाको आर्थिक मन्दीलाई विश्वले चिन्ने मौका पायो । यो विश्वव्यापी आर्थिक परिधिभित्र रहेर नेपालको आर्थिक विकासको विश्लेषण गर्ने हो भने दुई छिमेकीको आधारमा आर्थिक विकासको योजना बनाउन जरुरी छ ।
उत्तरतिरको छिमेकी चीन जो अवका केही वर्षमा विश्वको पहिलो आर्थिक शक्तिराष्ट्र हुँदैछ । त्यसपछि एसियाकै अर्को महाशक्ति जापानले पनि विश्व परिधिमा आर्थिक रुपले आफूलाई स्थायी र बलियो शक्तिका रुपमा उभ्याईरहेको छ । यस्तै अर्को छिमेकी भारत पनि समग्रमा तथ्यांकीय कोणबाट विकसित नै छ । तीनतिरबाट नेपाल भारतसंग जोडिएको छ । तर आर्थिक विकासका आधारमा सामाजिक र राजनीतिक रुपमा औपनिवेशिक र अधिनश्थको पीडा व्यहोर्नुपर्ने पुँजीवादी चरित्रको विश्वपरिधिमा नेपालले स्वाधीन अर्थतन्त्रको विकास गरी भारत र चीनसंगको तुलनात्मक सन्तुलनमा जान जरुरी छ । चीन र भारतको यो विकास नेपालको लागि निकै हीतकर पनि हुन्छ यदि यसलाई तत्काल रणनीतिक ढंगले नेपालले उपयोग गर्न नसक्ने हो भने भारत र चीनको आर्थिक प्रतिष्पर्धामा नेपाली नियति साँढेको जुधाई बाच्छाको मिचाई भनेजस्तै हुनेछ ।
तीव्र आर्थिक बृद्धि गरिरहेको चीनसंग आर्थिक सम्भावनाको ढोका खोल्नु ढिला भईसकेको छ । ग्वान्जाउबाट ५ हजार किलोमिटरको दुरीमा सिगात्से र त्यहाँबाट २ सय ५० किलोमिटर टाढा केरुङसम्म रेल आईसकेको छ, त्यो रेल ८ सय किलोमिटरको हाराहारीमा रहेको काठमाडौं ल्याउन जरुरी छ । यो भौतिक विकासको पहिलो चरणको काम हो । यस्तै चीनसंग जोडिएका सबै नाकाहरु तत्काल खोल्ने व्यवस्था गर्न जरुरी छ । यस बाहेक भौतिक विकासका लागि पूर्व पश्चिम रेलको अवधारणा, केरुङ, काठमाडौं लुम्विनी रेलसेवाको अवधारणा, यस्तै काठमाडौं तराई द्रुतमार्ग, हुलाकी राजमार्ग आदिको अवधारण कार्यान्वयन गर्नैपर्छ ।
त्यसबाहेक केही यस्ता सामान्य लागिने क्षेत्रका विकास अपरिहार्य भएका छन् जुन साना विकासकै जगमा भौतिक जिकासहरु दृढ र स्थायी बन्नेछन् । नेपालमा जसरी सहजै हिन्दी सिरियलको प्रभाव छ, नेपाली संस्कारका ग्रन्थदेखि नेपाली भाषाकै उद्गम पनि हिन्दीसंग नजिक रहने संस्कृत भाषामा छ । त्यसकारण भाषिक सम्बन्ध भुगोलभन्दा पनि बलियो दक्षिणतिर छ । यसलाई सन्तुलित बनाउन नेपालमा चिनियाँ भाषाको सहज पढाई हुन जरुरी छ । नीजि क्षेत्रबाट पनि चिनियाँ भाषाको अध्ययन केन्द्रहरु तीव्र गतिमा खोलिनु जरुरी छ । जसका कारण सामान्य परिवारमा पनि चिनियाँ भाषाको पहुँच हुन जरुरी भयो । नेपाली बजारमा चिनियाँ सामानहरु सस्तो र सर्बसुलभ प्राप्त हुँदा नेपाली जनजीवन जसरी सजिलो भएको छ त्यसका लागि अझ सजिलो बनाउन चीनतर्फको भिषा प्रणालीलाई सहज बनाइन सरकारले पहल थाल्नुपर्छ । भाषा र भिषाको सहजताले नेपालीहरु आधारभूत रुपमा चीनसंग जोडिन सक्छन् । विशाल आर्थिक सम्भावना भएको मुलुकसंग यसरी सम्बन्ध गाँसिनुले नेपाली आर्थिक विकास तीव्र गतिमा बढ्ने निश्चित छ ।
चीनले आफूलाई आर्थिक शक्ति राष्ट्रको रुपमा उभ्याएको छ । अव त्यहाँका जनताले समृद्धि संगै पर्यटनलाई संस्कृतिको रुपमा विकास गरिरहेका छन् । चीन र नेपालबीचको सांस्कृतिक सम्बन्ध राज्यको अवधारणा सुरु भएभन्दा पहिलेदेखि नै भएको पाइन्छ । राष्ट्रहरुको बीचमा औपचारिक सम्बन्ध हुँदा भन्दा पहिलादेखि जनस्तरमा भएको सम्बन्ध जसरी बीचमा लुप्त भयो त्यसलाई पुनव्र्याख्या र जनस्तरसम्म नै कायम गराउन जरुरी छ । यसले दुई देशको सांस्कृतिक आदानप्रदान र पर्यटनको विषय बढाउन सकिन्छ । चीन स्वयम्ले हजारौं वर्ष पहिले चीनबाट प्राचीन व्यापारका रुटहरुलाई आधुनिक विश्व बजारमा आफ्नै पहलमा विकासे सम्बन्धको मार्गका रुपमा स्थापित गराउन चाहिरहेको छ । उसले सिल्क रोडको अवधारणा र वान वेल्ट वान रोडको अवधारणा अगाडि सारेर सम्बन्धित देशलाई प्रतिबद्धता जनाईदिन अनुरोध गरिरहेको छ । यसबाट चीनको भन्दा ठूलो सम्बन्धित देशको विकास हुनेमा कुनै पनि मुलुकले शंका नगर्दा हुन्छ । चीनले युरोपसम्म रेलमार्ग जोडिसकेको छ । युरेशिया सम्बन्धमा चीनको अगुवाईलाई युरोपका मुलुकले समेत प्रशंका गरिरहेका छन् । शान्ति, सहकार्य, खुल्लापन र समावेशिताको अन्तर्वस्तुलाई अँगालेर चीनको नेतृत्वमा भईरहेको एसियाली विकासलाई नेपालले पछ्याउनैपर्छ ।
सन् २०१३ को सेप्टेम्वर र अक्टोवरमा चिनिया राष्ट्रपति सि जिंङ पिङले मध्य तथा दक्षिण एसियाको भ्रमण गरी यस क्षेत्रको पारस्परिक लाभका आधारमा समान ढंगले विकास हुनुपर्ने दृष्टिकोण अगाडि सार्दै वान वेल्ट वान रोड र सिल्क रोडको अवधारणा अगाडि सारेका थिए । सिल्क रोड र वान वेल्ट वान रोडको अवधारणालाई आर्थिक मात्र नभै सांस्कृतिक र सभ्यतालाई जोड्ने कनेक्टिभीटीको रुपमा पनि विकास गर्न सक्ने चिनियाँ अवधारणाले नेपाललाई संसारसंग जोड्न निकै सजिलो पार्नेछ । प्राचीन चिनियाँ आर्थिक विकासको सभ्यतामा नेपाल प्राथमिकतामा थिएन । प्राचीन सिल्क रोडले नेपाली सभ्यतालाई जोडेको थिएन तर अहिले चीनले नेपाललाई जोडेरै सिल्क रोडको अवधारणा अगाडि सारिरहेको सन्दर्भमा नेपाली प्रतिबद्धता जरुरी छ । यसबाट अफ्रिका, युरोप र अमेरिका पनि चीनसंग नजिकिने सन्दर्भमा नेपाली पर्यटन, प्राकृतिक सम्पदा, जडिबुटी लगायतका उपयोगिताका माध्यमहरु विश्व बजारमा सहज पहुँच राख्न सक्छन् । यसले विश्व बजारमा नेपालको उपस्थितिलाई सहज र सन्तुलित पनि बनाउँछ । अझ विविधतायुक्त, सन्तुलित, स्वाभीमानी अर्थतन्त्र विकास गर्न मद्धत पुर्याउँछ ।
नेपालमा लगानीको आकर्षण, नेपालीलाई रोजगारीको सम्भावित क्षेत्रहरुको बढोत्तरी पनि भाषा र भिषाको सहजतालेबढाए जस्तै ग्लोवल कनेक्टिभिटीले बढाउँछ । चीनले पूर्वी एसिया आर्थिक सर्कल र युरोपियन आर्थिक सर्कलको रुपमा विश्वलाई आर्थिक सर्कलको व्याख्या गरेर आफ्नो बजार विस्तार गरिरहेको छ । उत्पादनका हिसावले संसारभर आफ्नो बजारलाई विस्तार गरेको चीनले आर्थिक करिडोरको कार्यान्वयनको नेतृत्व लिएको छ । चीन मंगोलिया रुस आर्थिक करिडोर, चाइना पाकिस्तान आर्थिक करिडोर, बंगलादेश चीन भारत म्यानमार आर्थिक करिडोर एसियाको नेतृत्वमा सफल अवधारणा हुन् । हालै गोवामा भएको भेटघाटका सन्दर्भमा छिमेकी मुलुकहरुलाई गरेको सहयोग र सदासयताबाट पनि चीनले लिएको नेतृत्वको पुष्टि हुन्छ । नेपाललाई चीनले सहकार्यका लागि अगाडि राखेका केही महत्वपूर्ण विश्व संगठनहरु र एसियन संगठनहरुमा भूमिका बढाउन पनि नेपाल तयार भए निकै राम्रो सम्भावना र अवसर छ । जुन नेपाली आर्थिक विकासका लागि अत्यन्तै महत्वपूर्ण छ । शांघाई कोपरेसन अर्गनाइजेसन, एसियन प्लस चाइना, एसिया पेसिफिक इकनोमिक कोपरेसन, सेन्ट्रल एसिया रिजलन इकनमिक कोअपरेसन लगायतका चाइनाको अगुवाई नेतृत्व र प्रभाव भएका अन्तर्राष्ट्रिय तथा एसियन फोरमहरुमा नेपाली उपस्थिति र प्रभाव जरुरी छ ।
वान वेल्ट वान रोड, सिल्क रोड, आर्थिक करिडोर, ग्लोवल कनेक्टिभिटीसंगै विशुद्ध नेपाल र चीनको छिमेकीपनको फाइदा लिन सकिने गरी अप्टिकल भाइवर जोड्ने काम, उर्जाको विकास लगायतका अतिरिक्त र सहज सम्पन्न गर्न सकिने कामलाई पनि अगाडि बढाउन सके द्रुत आर्थिक विकासका लागि थप मार्ग प्रशस्त हुन्छ । यसका लागि चीन स्वमय् अग्रसर छ । जैविक विविधता र पर्यावरणीय सन्तुलनका लागि चीन र नेपालका बीचमा राम्रो र प्रभावकारी सहकार्य हुन सक्छ । चीनको औद्योगिक विकाससंगै निस्केको हरितगृह ग्याँसको कारण पर्यावरणमा सिर्जना भएको समस्या समाधानका लागि पनि नेपालको हरियाली तथा ग्रीन डेभलपमेन्ट सेक्टरमा पनि सहकार्यको राम्रो सम्भावना छ । जडिबुटी र औषधिका कच्चा पदार्थमा चीनले धेरै कच्चा पदार्थहरु अन्यत्रबाट आयात गर्छ । नेपालले भारत र बंगलादेश निर्यात गरेका औषधिका कच्चा पदार्थहरु सिधै चीन निर्यात गर्न सक्दा धेरै राम्रो आर्थिक लाभ लिन सकिन्छ ।
नेपालले भारतसंगको लामो सहकार्यमा जे उपलब्धि हासिल गरेको छ, जुन सम्बन्ध कायम गरेको छ त्यसलाई यथावत राख्दै त्यसको जगमा विश्वव्यापी सम्बन्धको मार्ग खोल्न जरुरी छ । चीनसंगको सहकार्यको लागि केही नीतिगत व्यवस्था परिमार्जन हुन जरुरी छ । अवको आर्थिक विकासका लागि नीतिगत समन्वय गरेर जानुपर्छ । नीतिगत समन्वय र सन्तुलित आर्थिक नीति अवको मुख्य मुद्धा हुनुपर्छ । विश्व अर्थव्यवस्थामा जल्दोवल्दो समस्याका रुपमा देखिएका हरितगृह ग्याँस उत्सर्जन न्युनीकरणका समस्या देखि औद्योगिकीकरणका कारण सिर्जित समस्याका पीडितप्रतिको सम्वोधनमा पनि चीनसंगको सहकार्य उपयुक्त हुन्छ । विश्वव्यापी आर्थिक तथा सामाजिक सुरक्षाको कोणबाट हेर्ने हो भने पनि चीनसंगको सहकार्य र सिकाई नै उपयुक्त हुन्छ । सामाजिक सुरक्षाको कमजोर आर्थिक वर्गका नागरिकहरुप्रतिको कर्तव्य निर्वाह गर्दै समाजवादी मुलुकको रुपमा आफूलाई उभ्याउनु विश्वमै उदाहरणीय छ । यसबाट पनि नेपाली समुदायले सन्तुलित र योजनाबद्ध विकासबाट समाजवादतर्फ छिट्टै जान सकिन्छ भन्ने उदाहरण पनि हो ।

अमृतनाथ तिमल्सिना, राजधानी दैनिकबाट

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*