timthumb.php‘पढेरभन्दा परेर प्राप्त गरिएको शिक्षा बढी शक्तिशाली र व्यावहारिक हुन्छ’ भन्ने मान्यतालाई सत्य–सावित गरेका छन् पाँचथर मौवा–१ का नरमान थापाले।
स्थानीय मौवा, पञ्चमी आयुर्वेद औषधालयमा ३९ वर्षसम्म कार्यालय सहयोगीका रुपमा सेवा गर्नुभएका थापाले सेवा गर्दा खाँदा सिकेको आयुर्वेदिक औषधि उत्पादन गर्ने सीपलाई अवकाशपछि व्यवसायमा बदलेका हुन्।
थापाले अहिले गाउँमै इन्द्रावती आयुर्वेदिक जडीबुटी प्रशोधन केन्द्र खोलेर दुर्गम क्षेत्रका मानिसलाई सेवा पुग्ने गरी औषधि पसल सञ्चालन गर्दै आएका छन्।
बारीमा उत्पादन हुने कोदो, मकैले मुस्किलले तीन महिना मात्र खान पुग्छ उनको परिवालाई। तर पनि हिजोआज थापाको आँगनमा प्रायः प्रत्येक दिन बिस्कुन लाग्छ। उनको आगनमा यसरी लाग्ने बिस्कुन अन्नको नभएर जडीबुटीको हो।
थापाको आगनमा स्थानीयस्तरमा उपलब्ध हुने अमला, हर्रो, बर्रो, कैंजल, कुरिलो, त्रिफला, निमपत्ता, काफलको बोक्रा, कालो हलेँदो, चिराइतो, ऐँसेलुलगायतका ७० प्रजातिका जडीबुटीको बिस्कुन लाग्ने गरेको हो। तिनै जडिबुटी सुकाएर उहाँ घरैमा आयुर्वेदिक औषधि उत्पादन गर्छन्।
आधुनिक प्रविधिबाट प्रशोधन गरे गुणस्तरमा क्षति पुग्ने हुनाले आफूले घरेलु उपकरण ढिँकी, ओखल, सिलौटाको सहायताले आयुर्वेदिक औषधि बनाउँदै आएको थापा बताउँछन्। यसरी स्थानीयस्तरमा पाइने जडीबुटीलाई प्रशोधन गरी आयुर्वेदिक औषधि बनाउने सीप उनले ३९ वर्षे जागिरे जीवनमा सिकेका हुन्।
आफ्नो जागिरको जोहो र विभिन्न वित्तीय संस्थाबाट ऋण लिई १५ लाखको लगानीमा पाँच वर्षअघि आयुर्वेद व्यवसाय सुरु गरेका उनको भनाइ छ। जडीबुटीको उपयोगिता र यसको व्यवसायबाट पनि आत्मनिर्भर हुन सकिने कुुरा आममानिसलाई सिकाउन यस्तो पेसामा लागेको उनी बताउँछन्।
हाम्रै वरिपरिका खेतबारी र पाखा–भित्तामा लाखौँ आम्दानी दिने आयुर्वेद औषधिको कच्चा पदार्थको रुपमा विभिन्न जातका जडीबुटी पर्याप्त उपलब्ध भएको तर आम मानिसले त्यसको पहिचान गर्न नसक्दा त्यसै खेर गइरहेको थापाले बताए।
राज्यले यससम्बन्धी नागरिकलाई अभिमुख गराएर यसको पेसा व्यवसायमा आकर्षित गर्न सके सयौं बेरोजगार युवालाई रोजगारीको सिर्जना हुने थापाले दाबी गरे। साथै यसबाट बहुमूल्य जडीबुटीबारे जनचेतना बढ्ने मात्रै नभएर यसको संरक्षण र प्रवद्र्धनमा सहयोग पुग्नेसमेत थापाले बताए।
थापाका अनुसार उनको पसलमा ग्यास्टिक, महिनावारी समस्या, बच्चा नहुने, मधुमेह, उच्च रक्तचापलगायत २८ वटा रोगको औषधि पाइन्छ । अहिलेसम्म एकहजार १०० भन्दा बढीले आफूले उत्पादन गरेको औषधि उपभोग गरेकामा ७५ प्रतिशतको रोग निको भएकोे थापाले दाबी गरे।
आयुर्वेदिक औषधिले ‘साइडइफेक्ट’ नगरी रोग निको पार्न सहयोग गर्ने हुनाले यसको माग र विश्वास आममानिसमा बढिरहेको थापाले बताए। यो व्यवसायबाट सन्तोषजनक आम्दानी भइरहेको बताउने थापाले यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बजारीकरण गर्नसके ठूलो आर्थिक लाभ लिन सकिने सम्भावना रहेको बताए। रासस
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*