ayurveda__Treatment_Nepal_229514460

एकराज पाठक

भैरहवाकी ४३ वर्षीया मायाकुमारी पुनको पित्त थैली र कलेजोको बीचमा मासु पलाएको जानकारी बानेश्वरस्थित सिभिल अस्पतालले दियो । सो अस्पतालले त्यसलाई क्यान्सरको मध्य अवस्था भनेर समेत पहिचान गर्यो ।

‘जडिबुटी औषधि सेवन गरेपछि निको भएको छ । पछिल्लो ल्याब रिपोर्टले त्यो मासु हटिसकेको देखाएको छ’, उनले भनिन्, ‘अस्पतालले पनि लगभग अब निको भएको भनेको छ ।’ उनले उक्त औषधि दुई महिनादेखि सेवन भने गरिरहेकी छन् । अरु केही समय औषधि सेवन गर्नुपर्ने पोखरेलले बताइन् ।
गोंगबु बस्दै आएकी बुटवलकी अर्की ६९ वर्षीया लक्ष्मी छन्त्यालको पाठेघरमा क्यान्सर भएपछि भक्तपुर क्यान्सर हस्पिटलमा रेडियोथेरापी सुरु गरियो । लामो समयसम्म थेरापी गराउँदा पनि निको हुने लक्षण नदेखिएपछि उनी २०७१ भदौ ७ गते सो अस्पतालबाट डिस्चार्ज भई सोही आयुर्वेदिक उपचार केन्द्रमा औषधि सुरु गरिन् ।
हाल उनलाई धेरै ठीक भइसकेको छ । उनी भन्छिन्, ‘भक्तपुर अस्पतालमै पुनः परीक्षण गराएँ, धेरै निको भइसकेको पछिल्लो ल्याब रिपोर्टमा देखिएको छ । औषधि त सेवन गर्दैछु तर अब मलाई  निको भएको महसुस भएको छ ।’
ललितपुरको महालक्ष्मी नगरपालिका–३ लुभुस्थित त्रिपिंगेश्वर महादेवस्थान नजिकैको आयुर्वेदिक उपचार परामर्श केन्द्रमा उपचार गराउन आउने यस्ता बिरामीको भींड नै लाग्ने गर्छ ।
विशेषतः कलेजोमा देखिएका गम्भीर प्रकृतिका समस्या, आधुनिक उपचार पद्दतिले निको नहुने खालका विभिन्न प्रकारका हेपटाइटिसहरु, कतिपय क्यान्सर, पिसाव नली एवम् पित्तथैलीका साथै यौनाङ्गमा हुने जटिलता, प्रोटेस्टो मेघाली तथा एचआइभी एड्सको समेत उहाँले आयुर्वेदिक उपचार गर्दै आएका छन् कृष्णप्रसाद पोखरेलले ।
निजामति सेवाबाट सेवानिवृत गोरखा खरिबोट–९ का ६५ वर्षीय पोखरेलले बुबा र हजुरबुबाको बैद्य पेसाबाट यो उपचार पद्दति सिकेका हुन् ।
‘मेरो कुनै औपचारिक अध्ययन होइन तर मेरा बाजे, हजुरबुबा र बुबाले परापूर्वकालदेखि नै गर्दै आएको पेसा र उहाँहरुले नै मलाई सिकाएकोले मैले अहिले यस्ता धेरै रोगको उपचार गर्ने गरेको छुु’, उनी भन्छन् ।
२०५६ सालदेखि उनी यसैमा ब्यस्त छन् । एचआइभी एड्सदेखि अरु कैयौँ रोगको सफल उपचार गरेपछि उनले निको पारेका बिरामी फेरि सोही अस्पतालमा पठाउँछन् । यसबाट धेरै चिकित्सकबिच चर्चा चल्यो र नेपाल स्वास्थ्य अनुसन्धान परिषदले पनि अध्ययन गर्यो । उनलाई परिषदले हाल प्रमुख अनुसन्धानकर्ताको रुपमा मनोनयन गरी अनुसन्धानको अनुमति दिएको छ ।
उनले जटिबुटीबाट उपचार गरी निको बनाएका प्रमाणहरु विभिन्न अस्पतालका ल्याब रिपोर्टबाट प्राप्त भएपछि विशेषगरी कलेजो रोगका बारेमा उपचारका लागि अनुसन्धान गर्न गत फागुन ३ गते परिषदले उनलाई पत्र दिएको छ । उनलाई हेपटाइटिस बि, हेपटाइटिस सि र लिबर सिरोसिस्सम्बन्धी अनुसन्धानका लागि परिषदले अनुमति दिएको हो ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदको मातहतमा ती रोगहरुको औषधि उनले बिरामीलाई सेवन गराउने, त्यसको खर्च परिषदले ब्यहोर्ने र उनले दिने औषधिको परिणामको रिपोर्ट समय समयमा लिनेगरी परिषदको नीति नियमबोजिम अनुसन्धान गर्नेगरी प्रमुख अनुसन्धानदाताको रुपमा परिषदले अनुमति दिएको छ । उनले औषधिको मात्रा, त्यसको विश्वसनीयताको मापन र ती औषधिको निर्माणसम्बन्धी अध्ययन परिषद मातहतमा रही अनुसन्धान गर्नेछन् ।
उनको औषधिको स्रोत नेपालकै जडिबुटी हुन् । नेपालकै जडिबुटीबाट उनले गर्दै आएको उपचारको विश्वसनीयताको अध्ययनपछि नै परिषदले यो अनुमति दिएको हो । उनले विसं २०५६ देखि आयुर्वेद उपचारको क्लिनिक खोलेर उपचार सुरु गरेका हुन् । ‘औषधि त म धेरै पहिला देखि नै दिन्थेँ तर आयुर्वेद उपचारको क्लिनिक नै खोलेर सेवामा लागेको भने २०५६ सालदेखि नै हो’, उनी भन्छन् ।
यतिखेर उनको लुभुस्थित उपचार केन्द्रमा नेपालबाहेक हङकङ, मलेसिया, सिंगापुर र थाइल्याण्डका बिरामी उपचाररत् छन् । उनले करिब १२ देशका विदेशीलाई उपचार गरी निको पारेको बताउँछन् । नेपालका भने यी रोगका लगभग ६० भन्दा बढी जिल्लाका बिरामी आफूकहाँ आएको उनको अनुभव छ ।
‘जडिबुटी उपचारमा हामीहरुलाई भन्दा बिदेशीलाई बढी विश्वास र चाख छ’, उनी भन्छन्, ‘स्वदेशी र बिदेशी चिकित्सक एवम् यस्तो उपचारमा सम्लग्न बिज्ञले औषधिको रहस्य एवम् जडिबुटीको बारेमा सोध्ने गरेका छन् ।’
बैकल्पिक चिकित्साको क्षेत्रमा कामगर्ने कैयौँ देशका विज्ञ एवम् विद्यार्थीहरुले उनीसँग बसेर अनुसन्धान गरेका छन् भने उहाँको उपचार बिधिको अध्ययन गरेका छन् ।
‘मैले एचआइभी एड्स निको पारेका विरामी नेपालका भन्दा विदेशी बढी छन् । धेरैजसो भारतीयहरु छन्’, उनी भन्छन्, ‘तर उनीहरुले अहिले आफूलाई एड्स थियो भनेर भन्न चाहँदैनन् ।’ अस्पतालपछि अन्तिम बिकल्पका रुपमा आफूकहाँ आएका कैयौं विरामी औषधिपछि पुनः गरिएको मेडिकल ल्याबमा एचआइभी नेगेटिभ देखिएकाहरुको सूची छ उनीसँग ।
उनले जडिबुटी प्रशोधन उद्योग पनि सञ्चालन गर्दै आएका छन् । उनको चितवनको रत्ननगरमा कान्तिपुर जडिबुटी प्रशोधन उद्योग छ । कतिपय औषधिको स्रोत आफ्नै उद्योगमा आउने जडिबुटी भए पनि अधिकांश जडिबुटी लिन भने आफै नै टाढा टाढा जानुपर्ने उनी बताउँछन् । लाखौँ रुपैयाँ अस्पतालमा सक्दा पनि निको नभएपछि अन्तिम बिकल्पको रुपमा आफुकहाँ आउने र सानोतिनो जडिबुटीले नै निको भएको पाउँदा आफूलाई जिवनमा सबैभन्दा ठूलो आनन्द प्राप्त हुने उनी बताउँछन् ।
‘जडिबुटी उपचारका नाममा अहिले धेरै बिकृतिहरु छन् । विज्ञापन दिएर हल्काफुल्का उपचारका लागि पैसा असुल्ने गरेका देखेकोले आफूले कहिल्यै यस्तो विज्ञापन गरेको छैन’, उनी सुनाउँछन्, ‘उपचारमा आएका बिरामीकै एक अर्काको सम्पर्कबाट मसँग विरामी आउने गरेका छन् ।’
‘हामीले हाम्रा अमूल्य जडिबुटी चिनेर पनि सदुयोग गर्न नसक्दा हामी रोगी भएका मात्र छैनौँ कि हाम्रो यो अमूल्य सम्पदा गुन्दु्रकको भाउमा बाहिरिएको छ’, उनी भन्छन्, ‘तर हामी तिनै जडिबुटीबाट बनेका औषधि महङ्गोमा सेवन गर्न बध्य भएका छौँ ।’
यी सम्पदाको सदुपयोगका लागि सरकारसँग विशेष योजना चाहिने उनको धारणा छ । ‘नेपालका जडिबुटीले निको नहुने कुनै रोग छैन’, उनी भन्छन्, ‘तर त्यतातिर हामीले हाम्रो अनुसन्धानलाई केन्द्रित गर्न नसक्नु दुःखद हो ।’ रासस
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*