रामपुर नगरपालिका–६ तालपोखराका नारायणप्रसाद भण्डारी तरकारीबाट यथेष्ट आम्दानी गर्छन् ।
उनी अहिले तरकारी बेचेर मासिक  एक लाख ५० हजार बराबरको आम्दानी लिन सफल भएका छन् । करिब २५ वर्षसम्म भारतमा काम गरेर फर्कनुभएका भण्डारीले व्यावसायिक रुपमा तरकारीखेती गरेर जिल्लाकै नमुना कृषकका रुपमा चिनिन्छन् ।
“जीवन जिउने आधार नै तरकारी खेती बनेको छ,” उनले भने– “यही व्यवसायबाट दाम र नाम मिलेको छ ।” जिल्लामै नमुना व्यावसायिक कृषकका रुपमा पहिचान बनाउन सकेकामा उनी खुसी छन् ।
बाह्र वर्षअघि दुईवटा घिरौँलाको बोटबाट भण्डारीले व्यवसाय सुरु गरेका थिए। अहिले उनले सात रोपनी जग्गामा व्यवसाय विस्तार गरेका छन् । मेहनत र जाँगर भयो भने यथेष्ट आम्दानी गर्न कुनै समस्या नहुने भण्डारीको भनाइ छ ।
बेमौसमी तरकारीले बजारमा उचित मूल्य पाएपछि त्यसतर्फ बढी ध्यान दिएको भण्डारी बताउँछन्। तरकारी व्यवसायबाट दुई छोरीको पढाइ खर्च, विवाह खर्चका लागि आफूलाई कुनै समस्या नपरेको उनको भनाइ छ । अहिले उनले काँक्रा, लौका, घिरौँला, फर्सी जातका तरकारी लगाएका छन् । यतिबेला उनलाई काँक्रा बेच्न भ्याइनभ्याई छ ।
“बेमौसमी उत्पादन भएकाले बजारमा अत्यधिक मात्रामा काँक्रा बिक्री भइरहेको छ,” भण्डारीले भने। आफूमा सीप, जाँगर र मेहनत छ भने घरमै दैनिक दुई देखि तीन घन्टा काम गरेर पनि हजारौँ रुपैयाँ कमाउन सकिने उदाहरणीय पात्र बनेका छन् कृषक भण्डारी । रासस
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*