दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाका स्थानीयले जंगलमा पाइने लौठसल्लाको व्यावसायिक खेती गरिरहेका छन् । लौठसल्लाबाट राम्रो फाइदा हुने भएपछि दक्षिण ललितपुरको गोटीखेल तथा आसपासका क्षेत्रमा यसप्रतिको आकर्षण बढेको हो । क्यान्सरको औषधी बनाउन प्रयोग हुने टेक्सस मेरी नामक पाउडर यसबाट प्राप्त हुने भएकाले यसको माग बढेको हो । लौठसल्लालाई स्तन तथा पाठेघर क्यान्सरको उपचार गर्ने जडिबुटीको रूपमा लिइन्छ ।

गोटीखेल इलाका वन कार्यालयअन्तर्गत गोटीखेल र आसपासका क्षेत्रको निजी वनमा १ सय ८२ रोपनीभन्दा बढी क्षेत्रफलमा लौठसल्ला लगाइएको जिल्ला वन कार्यालय ललितपुरले जनाएको छ । गोटीखेल, मनीखेल र कालेश्वर क्षेत्रमा यसको खेती बढी छ ।

महाङ्काल गाउँपालिका–३ का दलबहादुर तिमल्सिनाले साढे १० रोपनीमा, गंगाप्रसाद तिमल्सिनाले १० रोपनीमा, इन्द्रमान बाइवाले १९ रोपनीमा, इन्द्र कुमारसिङ्तानले ३२ रोपनीमा र सिश्वन गाउँका अन्य स्थानीयले ३० रोपनीमा लौठसल्लाको खेती गरेको जिल्ला वन कार्यालयले जनाएको छ । कृषकहरूले पुरानो कृषि बालीलाई ल्यागेर लौठसल्लाको उत्पादन सुरु गरेका छन् ।

गोटीखेलका दलबहादुर तिमल्सिना झन्डै लामो समयदेखि लौठसल्ला खेतीमै तल्लिन छन् । ६१ वर्षीय तिमल्सिनाले अहिले वार्षिक करिब ३३ लाखको कारोबार गर्छन् । “६ लाखको त लौठसल्लाका पात र स्याउला बेचें, ६ लाखको अझै स्टक नै छ । २१ लाखको बिरुवा नै बेचिएको छ । १२ लाखको बिरुवा दोलखा पु¥याइएको छ,” उनले सुनाए ।

आफ्ना हजुरबुबाको पे्ररणा पाएर वनबाट लौठसल्लाको बिरूवा खोज्न सुरू गरेका उनले आफ्नो जग्गामा हजारौँ बोटबिरुवा रोपेका छन् । “कति बिक्री गर्ने तयारी अवस्थामा राखेको छु, कतिको बेला हुँदै गरेको छ,” उनले भने । लगाएको ६ वर्षदेखि आम्दानी दिन सुरू गरेपछि एउटा बोटले सय वर्षसम्म निरन्तर आम्दानी दिने उनले बताए । एउटा बोटबाट ४५० किलो पात टिपेर बिक्री गर्न सकिन्छ । उनीसँग अहिले १० हजार लौठसल्लाका रुख छन् भने यही वर्षमात्र ३५ हजार बिरुवा उनले उत्पादन गरेका छन् । तिमल्सिनाले अहिले बिरूवासमेत उत्पादन गरी बेच्ने गरेका छन् । एउटा बिरुवा बेच्नको लागि तयार बनाउन तीन वर्ष लाग्छ भने प्रतिगोटा ५० रुपैयाँमा बिक्री हुन्छ ।

भारतको नागाल्याण्डमा १५ वर्ष बसेर वनस्पतीसम्बन्धी काम गरी फर्किएका दलबहादुर अहिले लौठसल्लाको उत्पादन र बिक्री तथा यसका फाइदाबारे प्रेरणा दिन ललितपुरका मुख्य स्रोत बनेका छन् ।

यो सल्लाको पात तथा स्याउला विशेषगरी क्यान्सर रोगको औषधीका लागि प्रयोग हुने गरेको छ । क्यान्सरको अचुक औषधीमा प्रयोग हुने भएकाले व्यापारीहरू उत्पादन हुने स्थानमै पुग्ने गरेको स्थानीय बताउँछन् । उनीहरूले लौठसल्लाको पात तथा स्याउला एक किलोको २ सय ५० मा खरिद गर्ने गर्छन्, । ललितपुरको महाङ्काल क्षेत्रमा अहिले हेटौँडा बसामाडीमा रहेको माछापुच्छ्रे र नेचुरल हर्बल कम्पनीले लौठसल्लाको उत्पादन किन्ने गरेका छन् । सरकारी निकायमा १२ वटा उद्योग दर्ता भए पनि नेपालमा २ वटामात्र यस्ता उद्योग सञ्चालनमा छन् ।

महाङ्काल गाउँपालिका–३ जप्काथलीका युवा निरञ्जन घिमिरे पनि लौठसल्लाको उत्पादनतर्फ आकर्षित भएका छन् । उनले २ हेक्टर क्षेत्रफलमा लौठसल्ला लगाएका छन् । ३ वर्षमा यसबाट साढे २ लाख आम्दानी गरेका उनले आम्दानी बढ्दै गएको बताए । “पैसा कमाउनका लागि बाहिर जानु पर्दैन,” बेलायतमा पढेर फर्केका घिमिरेले भने, “लौठसल्लाका स्याउला लिन कम्पनी उत्पादन हुने स्थलसम्म नै आइपुग्छन् ।”

त्यहाँकै इन्द्रमान वाइवा तामाङले लौठसल्ला खेती सुरु गरेको ८ वर्ष भएको छ । गएको वर्षमात्र उनले बिरुवा उत्पादनबाट करिब ५ लाख र स्याउला बिक्रीबाट ८ लाख आम्दानी गरे । “मकै, तोरीबाट वार्षिक ५० हजार हुन्छ भने यसबाट करिब ८ लाख हुन्छ,” उनले भने । उनले विदेश जाने युवाहरूलाई विदेश जानुअघि आफ्ना खेतबारी बाँझो राख्नुको सट्टा लौठसल्ला रोपेर जान सुझाव दिए । “विदेश जानुअघि लौठसल्ला रोपेर गए फर्केर आउँदा त्यसबाट आम्दानी लिने बेला हुन्छ,” उनले भने, “अन्य खेतीमा जस्तो स्याहार र गोडमेल गरिरहनुपर्दैन ।”

अर्का कृषक इन्द्रकुमार सिङतानले ३२ रोपनीमा लौठसल्लको खेती गरीरहेका छन् । उनले ५ सय बिरुवाबाट बार्षिक डेढ लाख आम्दानी भइरहेको बताए । २०७५ सालसम्ममा १० हजार बिरुवा बनाउने योजना उनले बनाएका छन् ।

पछिल्लो समय ललितपुरमा लौठसल्लाको खेतीले व्यावसायिक रूप लिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । “समुन्द्र सतहबाट १५ सयदेखि २५ सय मिटरको उचाइमा लौठसल्ला लाउन राम्रो मानिन्छ,” प्रमुख जिल्ला वन अधिकृत जयमंगल प्रसादले भने, “कम मेहनतमा पनि प्रतिफल पाइने भएकाले यो क्षेत्रमा आकर्षण बढ्दै गएको हो । महाङ्काल गाउँपालिकाका ती क्षेत्रलाई पकेट क्षेत्र बनाएर सहयोग गरिएको छ । यसका बारेमा जानकारी गराउने तथा प्रचारप्रसार गराउने काममा पनि जिल्ला वन अगाडि बढेको छ ।”

जडीबुटि कार्यक्रमतर्फ लौठसल्ला खेती विस्तारका निम्ति जिल्ला वनले तदारुकता देखाएको सहायक वन अधिकृत प्रेमकुमार साहले बताए । जडिबुटि प्रशोधन भण्डारणका लागि १० लाख र खेती विस्तारका लागि २५ लाख दिने जिल्ला वनले बताएको छ । समूह या व्यक्तिले उचित प्रकृया पुर्याएर माग गर्न आए सहयोग रकम दिने व्यवस्था गरिएको छ । बाह्रखरीबाट

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*