अब्दुल्लाह मियाँ

संसदको वातावरण संरक्षण समितिको सिंहदरबारमा आफ्नै सुविधायुक्त कक्ष छ । वन ऐन र निकुञ्ज ऐन संशोधनलगायत विषयमा छलफल गर्न भने महँगो रकम तिरेर गोकर्ण फरेस्ट रिसोर्टमा बैठक बसेको छ ।

यसअघि सिंहदरबारस्थित समितिकै कक्षमा पटक–पटक छलफल भएको थियो । मंगलबार भने गोकर्ण रिसोर्टमा आवासीय छलफल भएको हो । समितिका २५ सांसद सहभागी बैठकमा वनमन्त्री अग्निप्रसाद सापकोटा प्रमुख अतिथि थिए । वन सचिव उदयचन्द्र ठाकुरसहित मन्त्रालयका विभिन्न महाशाखाका प्रमुख, विभागका महानिर्देशक, मन्त्रीका स्वकीय र निजी सचिवलगायत थिए । सबै गरी करिब ५० जना सहभागी रहेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार रिसोर्टमा आवास र रात्रिभोजलगायत खर्च मन्त्रालयमातहत सञ्चालित ‘बहुसरोकारवाला वन कार्यक्रम (एमएससीएफपी)’ को कार्यक्रम सहयोग एकाइ (पीसीओ) ले बेहोरेको छ । ‘एमएसएफपी’ वनको विवादित र असफल कार्यक्रम हो । उक्त एकाइका प्रमुख उपसचिव सुधीर कोइरालाले ‘वर्कसप मोडल’ को छलफल भएकाले रिसोर्ट प्रयोग गरिएको दाबी गरे ।

बैठकमा मन्त्रालयको वैदेशिक सहयोग समन्वय महाशाखा प्रमुख डा. विश्वनाथ ओलीले सांसदहरूको स्वागत गरेका थिए भने योजना महाशाखा प्रमुखसमेत रहेका प्रवक्ता कृष्णप्रसाद आचार्यले मन्त्रालयका आगामी योजना र कार्यक्रमबारे प्रस्तुति दिएका थिए । छलफलको एउटा सत्रको सभापतित्व समिति सभापति जनकराज चौधरीले गरेका थिए । अर्को सत्रको सभापतित्व वन सचिव ठाकुरले गरेका थिए ।

समिति सभापति चौधरीले वन ऐन, निकुञ्ज ऐनलगायत वनका विविध विषयमा छलफल भए पनि समिति र सचिवालयको खर्चको कार्यक्रम नभएको र फेरि ती विषयमा समितिको हलमा पनि छलफल हुने बताए । ‘खर्च कसको हो वन मन्त्रालयले जानोस्,’ चौधरीले बुधबार कान्तिपुरलाई भने, ‘हामीलाई त बोलाइयो, गयौं । छलफल भयो, बास बस्यौं र आयौं ।’

समितिको वन उपसमितिका संयोजकसमेत रहेका सांसद राजाराम स्याङ्तानले वन ऐन, निकुञ्ज ऐनलगायत वन मन्त्रालयमातहत आगामी आर्थिक वर्षमा लागु हुने कार्यक्रमबारे बैठकमा छलफल भएको बताए । ‘आवाससहितको कार्यक्रम राम्रो भयो,’ उनले भने ।

वन विभागका महानिर्देशक रेशमबहादुर डाँगीले बिहीबारदेखि पाँचवटै क्षेत्रमा सुरु हुने आगामी वर्षका योजनासम्बन्धी क्षेत्रीय गोष्ठीका विषयवस्तुसहित ऐन संशोधनबारे छलफल भएको बताए । ‘समितिका सांसदहरूले वनका आर्थिक वर्षका कार्यक्रमबारे जानकारी गराउन पहिलेदेखि नै अनुरोध गर्नुभएको रहेछ,’ डाँगीले भने, ‘मंगलबारको कार्यक्रम त्यही हो, उहाँहरूले धेरै सुझाव दिनुभयो ।’
कान्तिपुर बाट

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*