timthumb-phpकुनै समय गाउँमा जमिनदारको खेतमा परिश्रम गरेर परिवारको लालनपालनमा दिन बिताउने कञ्चनपुरको देखतभूली गाविस–६ का शिवचरण राना यतिबेला दूध बेचेरै दुई लाख आम्दानी गर्न थालेका छन्।
घरको आर्थिक अवस्था कमजोर हुँदा वैदेशिक रोजगारीमा जान खोजेका उनले पछिल्लो समय गाउँका किसानबाट दूध सङ्कलन गरेर बिक्री वितरण गर्न थालेका छन्। “परिश्रमी हातलाई पैसा कमाउन विदेश नै जानु पर्दैन, काम गरे गाउँमै पनि प्रशस्त कमाई गर्न सकिन्छ,” उनले भने।
दूध बिक्रीबाटै उनले वार्षिक दुई लाख आम्दानी गर्दै आएका छन्। रानाले दैनिक एकसय ८० लिटर दूध बिक्री गर्दै आएका छन्। भारतमा लामो समय रोजगारीका नाउँमा मजदुरी गरेर समय खर्चिएकोमा उनलाई पश्चताप छ।
यस्तै भीमदत्त नगरपालिका– १४ वनकट्टीका ५४ वर्षीय रामबहादुर बोहरा दैनिक गाउँमा किसानबाट दूध सङ्कलन गरेर बिक्री गर्न आठ किलोमिटर टाढाको महेन्द्रनगर बजार आइपुग्छन्। करिब १०० लिटरसम्म दूध सङ्कलन गर्ने गरेका बोहराले विगत दुई दशकदेखि दूधको व्यापार गर्दै आएका छन्। उनले दूध बिक्रीबाटै गाउँमा १५ लाख बराबरको घडेरी, ६ लाखमा घर निर्माण गरेका छन्।
विसं २०५३ देखि बोहराले भीमदत्त नगरपालिकाको वनकट्टी, वसन्तपरु, ऐरी, बासखेडा र गोबरियाका किसानको घरबाट दूध सङ्कलन गरेर महेन्द्रनगर बजारमा बिक्री गर्दै आएका छन् । “दूधकै कारोबारले सिङ्गो परिवार धानेको छु,” उनले भने।
सुरुमा प्रतिलिटर १० बाट दूधको व्यापार सुरु गरेको बोहरा दूध उत्पादन र खपतमा कुनै कमी नआएको बताउँछन् । उनले २१ लाख बराबरको जग्गा र घर निर्माण गरेका छन्। अहिले प्रतिलिटर ५० मा दूध बिक्री गरिरहेका छन्।
दूध व्यापारबाट मासिक १२ हजार देखि १८ हजारसम्म बचत हुने गरेको उनको भनाइ छ । दैनिक बिहान ५ देखि १२ बजेसम्म दूधको कारोबार गर्ने गरेका बोहरा आधी समय भने किसानीमा बिताउँछन्। पछिल्लो समय भीमदत्तनगरको ‘हेल्प नेपाल’ संस्थामा आवद्ध बोहरा गाउँघरमा सरसफाइ अभियानदेखि अन्य विकास निर्माणका सामाजिक कार्यमा समेत संलग्न छन्। रासस
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*