त्रिशूली
जिल्लामा चैतेधानको उत्पादन बढाउन जिल्ला कृषि विकास कार्यालयले किसानलाई अनुदान दिने भएको छ ।
नुवाकोटमा चालु आवदेखि सुरु भएको बृहत्तर धान उत्पादन कार्यक्रममार्फत किसानलाई नगद अनुदान दिन लागिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमल गैरेले बताए।
चामल आयात गर्ने बाध्यतालाई अन्त्य गराउन यो कार्यक्रम सञ्चालन गरिएकाले किसानले धान उत्पादनमा विशेष ध्यान दिनुपर्ने जिल्ला कृषि कार्यालयले जनाएको छ ।
बृहत्तर उत्पादन कार्यक्रमले जिल्लाका साविकको १० गाविसलाई समेटेको छ । मदानपुर, थानसिङ, थानापति, खानिगाउँ, चौघडा, गणेशस्थान, कविलाश, रालुका र नर्जामण्डपलाई कार्यक्रममा समेटिएको जिल्ला कृषि कार्यालयका बाली विकास अधिकृत पुरुषोत्तम सुवेदीले जानकारी दिए।  सुवेदीका अनुसार १० गाविसका १०० हेक्टर क्षेत्रफलका लागि प्रतिहेक्टर  पाँच हजारका दरले प्रोत्साहन रकम दिन थालिएको हो ।
रकम लिन कृषि सहकारी र समूहमार्फत आउनुपर्ने हुन्छ । प्रोत्साहन रकम प्राप्त गर्न धान लहर मिलाई रोप्नुपर्ने र बाली बिमा गर्नुपर्ने बाली विकास अधिकृत सुवेदीले बताए।
रोप्ने काममा कृषि कार्यालयबाट प्राविधिक सहयोग भइरहेको छ । बाली बिमाले किसानलाई उनीहरुले लगाएको धान बालीमा कुनै कारणवश क्षति हुनपुगेमा त्यसको आर्थिक क्षतिपूर्ति उपलब्ध गराउनेछ ।
नुवाकोटमा छ हजार हेक्टरभन्दा बढी क्षेत्रफल खेतमा चैते धान लगाइने गरेको छ । चैते धानको उत्पादकत्व प्रतिहेक्टर ४.२ मेट्रिक टन रहेको छ । जिल्लामा विशेष गरी ताइचुङ, सीएच ४५, कन्चन, खुमल ११, जीरे मसिनोजस्ता जातका धान लगाउने गरिएको छ । रासस
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*