kantipurअमेरिका, अस्ट्रेलियालगायत विकसित मुलुकहरूमा मिचाहा प्रजातिका रूपमा पहिचान गरिएको ‘पाउलोनिया’लाई नेपालमा भने प्राज्ञिक निकाय र सरकार मातहतका परियोजनाले नै प्रवद्र्धन गरिरहेका छन् ।

छिटो बढ्ने र छिट्टै आर्थिक लाभ लिन सकिने भएकाले अमेरिकालगायत विश्वका विभिन्न भागमा यसको वृक्षरोपण गरिए पनि कालान्तरमा अन्य प्रजातिलाई असर गरेको पत्तो लागेपछि अहिले प्रतिबन्ध लगाएर रोकथाम गर्न थालिएको छ ।

वन मन्त्रालयमातहत सञ्चालित राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिले भने ‘पाउलोनिया’ को बिरुवा उत्पादन र वृक्षरोपण प्रवद्र्धन गर्न आर्थिक सहयोग गरेको छ । ‘काठमाडौं विश्वविद्यालयले पाउलोनियाको बिरुवा उत्पादन गरी बिक्री वितरण गरिरहेको छ,’ स्रोतले भन्यो, ‘बायोटेक्नोलोजी विभागले यो बिरुवा उत्पादन गरी सर्वसाधारणलाई बिक्री गरिरहेको छ ।’ विभागका सहप्राध्यापक ध्रुव गौचनले चीनबाट पाउलोनियाको बीउ झिकाएका हुन् ।

वातावरण संरक्षण नियमावली २०५४ मा ‘योएलियन’ तथा ‘इन्भेसिभ’ प्रजातिअन्तर्गतका कुनै पनि रूख प्रजाति नेपाल भित्र्याउनुअघि प्रारम्भिक वातावरणीय परीक्षण गर्नुपर्ने प्रावधान छ । तर, चीनको रैथाने प्रजातिको पाउलोनिया बीउ बिनाअनुसन्धान भित्रिरहेको एक विज्ञले बताए ।

‘अरू देशमा मिचाहा प्रजाति भनी रोक लगाइरहेको रूखलाई अनुसन्धान नगरीकनै विश्वविद्यालयले निजी नर्सरीले जस्तो बिरुवा उत्पादन गरी बेच्नु लाजमर्दो कुरा हो,’ एक अध्यापकले भने, ‘बरु पाउलोनियाले अरू प्रजातिलाई असर गर्छ कि गर्दैन भनेर अनुसन्धान गरेको भए राम्रो हुन्थ्यो ।’

उक्त विश्वविद्यालयलाई करिब ६७ लाख रुपैयाँ आर्थिक सहयोग दिएको चुरे समितिका सदस्यसचिव तथा मन्त्रालयका सहसचिव डा. अन्नपूर्णानन्द दासले सहयोग रकममध्येबाट ७ हजार पाउलोनियाको बिरुवा उत्पादन गर्नु उसको दायित्व भएको बताए ।

‘मेजर फोकसचाहिँ बाँसको बिरुवा उत्पादन गरी किसानलाई बाँड्ने हो,’ दासले भने, ‘पाउलोनिया फोकस कार्यक्रमभित्र होइन, उहाँहरूले थोरै प्राथमिकता दिनुभएको होला ।’ छोटो अवधिमै हवात्तै हुर्कने र आर्थिक लाभ लिन सकिने भएकाले नेपालमा यो प्रजाति रोप्न विभिन्न संघसंस्थाले प्रोत्साहन गरेका छन् । छिटो लाभ लिन सक्ने आशामा पछिल्लो अवधिमा यो प्रजाति रोप्न सर्वसाधारण पनि आकर्षित भइरहेका छन् ।

वन अनुसन्धान तथा सर्वेक्षण विभागका उपमहानिर्देशक एवं विज्ञ डा.दीपक खरालले वन मन्त्रालयले पाउलोनियालाई परीक्षणकै क्रममा राखेको बताए । ‘पाउलोनियाको सबै पक्षबारे हामी पनि अनुसन्धानमै छौं,’ खरालले भने, ‘विगतमा सिसौमा एकाएक रोग भित्रिएर किसानले ठूलो क्षति बेहोरेको इतिहास छ, अहिले पाउलोनियामा त्यो नदोहोरियोस् भन्नेमा सचेत छौं ।’ विभागले तराई र पहाडका ५/५ स्थानमा आधा–आधा हेक्टर जमिनमा पाउलोनियाको रिसर्च प्लट बनाएको छ ।

छिटो हुर्कने रूख प्रजातिको पाउलोनिया मध्यपहाडी भागमा हुन्छ । १० वर्षमै काट्न सकिने यो प्रजातिका काठ फर्निचर र प्लाइउडका लागि उपयुक्त हुन्छ । चितवन निकुञ्जमा मिचाहा झार ‘माइकेनिया म्याकारान्था’ले पिरोलिरहेका बेला बेलैमा ध्यान नदिए पाउलोनिया पनि गम्भीर चिन्ताको विषय बन्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन् । माइकेनिया म्याकारान्था नामको मिचाहा झारले गैंडाको बासस्थान र आहार ढाकेर समस्या पारेको छ ।

वन मन्त्रालयमार्फत सञ्चालित ‘बहुसरोकारवाला वन कार्यक्रम’ ले पनि पाउलोनियाको बिरुवा प्रवद्र्धन गर्न खोजेको थियो । त्यसअनुसार विभिन्न जिल्लामा नर्सरीमार्फत बिरुवा उत्पादन सुरु गरी नमुना प्लटको विकास गर्न खोजिएको थियो । ती प्लटमा भएका पाउलोनियाका सबै पक्षबारे अनुसन्धान विभागले अध्ययन गरिरहेको खरालले बताए ।

‘बहुसरोकारवाला कार्यक्रमले पाउलोनियाको हुर्काई, बढाई र त्यसको विविध पक्षबारे अनुसन्धान गरिदिन आग्रह गरेको थियो,’ उनले भने ।

पाउलोनियाको बिरुवा प्राकृतिक वनमा रोपियो र अमेरिकामा जस्तै यहाँ पनि यसले मिचाहा प्रवृति देखायो भने जैविक विविधता संरक्षणमा वर्षौंदेखिको लगानी खेर जाने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्

कान्तिपुर बाट

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*