स्वदेशमा आम्दानीको भरपर्दो स्रोत नभएको भन्दै विदेशी भूमिमा आफ्नो श्रम र सीप खर्चने युवाको कमी छैन। रोजगारका लागि दैनिकजसो विदेश जानेको सङ्ख्या बढ्दै गएको छ।
विदेशमा श्रम गरेर आर्जन गरेको रकमले स्वदेशमै उद्यमी बन्ने युवा अहिले बढ्दै गएका छन्। विदेशबाट फर्किएपछि कसैले उद्योग, कसैले व्यापार त कसैले कृषिलाई आफ्नो जीविकोपार्जनको माध्यम बनाएका छन् । त्यसैबाट उनीहरु नाम र दाम कमाउन सफल भएका छन्।
विदेशको आम्दानीलाई स्वदेशमा लगानी गरेर कमल गाउँपालिका–३ तोपगाछीका रितु भण्डारी बङ्गुरपालनको माध्यमबाट मनग्य आम्दानी गर्न सफल भएकी छन्।
विसं २०५३ मा १७ वर्षको उमेरमा रितु श्रम गर्न कतार  पुगिन्। करिब २७ महिना कतारको बसाइ पछि उनी स्वदेश फर्किइन्। कतारमा सोचे अनुसारको आम्दानी नभएपछि उनी पुनः मलेसिया गइन्।
मलेसियाबाट फर्केपछि उनले बङ्गुरपालन व्यवसाय रोजिन्। भण्डारीले  २५ लाखको लगानीमा लक्ष्मी बङ्गुर फार्म सञ्चालन गरिन् । सुरुमा उनले ४० वटा माउ बङ्गुर खरीद गरेर पाठापाठी उत्पादन सुरु गरिन्। बङ्गुरपालनबाट छोटो समयमा मनग्य आम्दानी लिन सकिन्छ भन्ने बुझेर नै व्यवसाय थालेको उनको भनाइ छ ।
एक पटकमा एउटा माउ बङ्गुरले १६÷१७ वटा पाठापाठी पाउने गरेको उनी बताउँछिन्। भण्डारीले अहिले मासिक चार लाख बराबरको पाठापाठी बेच्ने गरेकी छन्। “मासिक दुई लाख आम्दानी हुन्छ,” उनले भनिन्।
उनले उत्पादन गरेका पाठापाठी अहिले भारतको सिक्किम, दार्जिलिङ, खर्र्साङलगायत ठाउँका व्यापारीले खरिद गर्ने गरेका छन्। “पाठापाठी खरिद गर्न अहिले व्यापारी घरमै आउँछन्,” उनले भनिन्।
उनको फार्ममा हेमयार र ड्यूर उन्नत जातका बङ्गुरको पाठापाठी उत्पादन हुन्छ । पाठापाठी प्रतिओटा चार हजार सम्ममा बिक्री हुने गरेको भण्डारीले बताइन्। उनको फार्ममा दुई जनाले रोजगारी समेत पाएका छन् । सरकारले विदेशमा आफ्नो श्रम खर्चिरहेका युवालाई स्वदेशमै काम गर्ने वातावरण बनाउनुपर्ने उनले जोड दिइन्।
“सरकारले व्यवसाय सञ्चालन गर्न युवालाई सहुलियतमा ऋण दिनुपर्छ,” उनले भनिन्। पहुँच हुनेले किसानको नाममा सुविधा उपभोग गरिरहेकाले सरकारले अगुमन गरी वास्तविक किसानलाई राहत दिनुपर्ने भण्डारीको भनाइ छ। भण्डारीले यस वर्ष जिल्ला पशु सेवा कार्यालयबाट ‘बङ्गुर व्यवसाय प्रबद्र्धन कार्यक्रम’अन्तर्गत एक लाख अनुदान पाएकी छन्। रासस
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*