चीना थापा

सिन्धुली भिमेश्वर ३ राताटारका बोइलमान राईलाई आजभोली खुर्सानी टिपेर बेच्न भ्याईनभ्याई छ । राई पुराना व्यवसायिक कृषक भने होईनन् । बैशाख १२ को भूकम्पले घर ध्वस्त बनाईदियो ।  घरभित्र रहेका धेरै जसो खाद्यान्न तथा लत्ताकपडा पुरिदियो । दाताले दिएको थोरै सहयोगमा घर परिवार चलाउन कठिन भयो । ७ जनाको परिवार रहेको उनको घरमा परवार धान्नलाई आम्दानीको स्रोत बन्यो खुर्सानी ।khursani

पहिला खानको लागि मात्र थोरै खेती गरेको राईले अहिले व्यवसायिक रुपमा खुर्सानी खेती गर्न थालेका छन् । अहिले उनले एक कट्ठा जमिन खुर्सानी खेति गरेका छन् । खुर्सानी खेतीबाट उनले दिनमा ५ देखि १००० हजारसम्म आम्दानी गर्ने गरेका छन् । खुर्सानीको आम्दानीले अहिले घर व्यवहार चलाउन सजिलो भएको उनले बताए । बस्नलाई घरको समस्या भएपनि खानको लागि समस्या छैन् उनको परिवारलाई । व्यवसायिक रुपमा खुर्सानी खेति गर्न सुरु गरेका उनले व्यवसायिक रुपमा तरकारी खेति समेत सुरु गर्न लागेका छन् । अहिले खान पुग्ने मात्र तरकारी लगाएको बताउँदै उनले अब व्यवसायिक रुपमा सुरु गर्ने बताए । ‘जति दुःख हुनु भैहाल्यो, अब अरुको आशमा बाच्नुभन्दा आफैले केही गर्न सकिन्छ भन्ने उदेश्यले खुर्सानी खेतिको सुरुवात गरेको हुँ । अब व्यवसायिक तरकारी खेति पनि सुरु गर्छु’, उनले भने ।

राताटारकी फूनेदेवी राईले पनि व्यवसायिक खुर्सानी खेति गरेकी छिन् । खुर्सानी खेतिबाट दिनमा ५ सयभन्दा बढी आम्दानी हुने गरेको उनले बताईन् । खुर्सानी खेति अहिले बाच्नको लागि सहारा भएको उनको भनाई छ । उनको पनि बैशाख १२ को भूकम्पले घर ध्वस्त भएर खाद्यान्न तथा लत्ताकपडा पुरिएको थियो । ‘आफुले दुःख गरेकोले त खान पुग्दैन्, अरुले दिएकोले कत्तिन्जेल पुगोस्’, उनले भनिन्, ‘आफैले दुःख गरेर खादा नै राम्रो हुन्छ भनेर थोरै समयमा नै आम्दानी लिन सकिने खुर्सानी खेतिको सुरु गरेको हुँ ।’ उनले पनि एक कट्ठा जमिनमा खोर्सानी खेति गरेकी छिन् । खुर्सानीको आम्दानीले खान लगाउन पुगेको उनको भनाई छ ।

राताटारकी एसोदा कोईरालाको पनि बैशाख १२ को भूकम्पले घर ध्वस्त भयो । उनले पनि घरभित्रको सामान झिक्न भ्याईनन् । त्यसपछि उनलाई बस्न र खान समस्या भयो । सहयोग गर्ने संघ संस्थाले अस्थायी टहरा त बनाईदिएका छन् । तर चिसोमा बस्न समस्या भैरहेको छ । बस्नलाई समस्या भएपनि खानको लागि आम्दानीको स्रोत खुर्सानी खेति भएको छ । अरुले दिएको सहयोगले एक दुई महिना खान पुगेको बताउँदै उनले अब केही गर्नुपर्छ भन्ने लागेर आफूले पनि अरुले जस्तै खुर्सानी खेति गरेको बताईन् । खुर्सानी खेतिबाट उनले दिनमा ५ देखि ७ सयसम्म आम्दानी गर्ने गरेकी छिन् । खुर्सानीको आम्दानीबाट अहिले कोईरालाले आफ्नो विहान बेलुकाको छाक टारिरहेकी छिन् ।

सिन्धुली भिमेश्वर ३ राताटारका भूकम्प पिडित व्यवसायिक खुर्सानी खेतिमा लागेका छन् । बैशाख १२ को भूकम्पमा घर ध्वस्त भएका राताटारका भूकम्प पीडित व्यवसायिक खुर्सानी खेति गरेर आम्म्दानी गर्न थालेका हुन् । खुर्सानी विक्री गरेर आफ्नो घर व्यवहार चलाएको उनीहरुको भनाई छ । पहिला पहिला खानको लागि मात्र खेति गर्ने राताटारबासी अहिले व्यवसायि रुपमा खेति गर्न थालेका हुन् । १९ घरपरिवार रहेको राताटारमा सबैले खुर्सानी खेति गरेका छन् । खुर्सानीसँगै अब अन्य मौसमी तथा बेमौसमी तरकारी खेति पनि गर्ने योजना रहेको उनीहरुले बताएका छन् । सिँचाईका लागि राताटारबासी ट्यांकी बनाउने र पाईप विछ्याउने काम गरिरहेका छन् ।

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*