mauri
मोरङको लेटाङ भोगटेनी–६ का कमल राईले मौरीपालनलाई व्यावसायिक रुपमा अङ्गालेपछि उनको जीवनशैली नै फेरिएको छ।
मौरी व्यवसायबाट बर्सेनि सरदर पाँच लाख आम्दानी भएपछि उनको जीवनशैली नै फेरिएको हो। सात वर्षअघि झापाबाट सात घार मौरी खरिद गरेर व्यवसाय सुरु गर्नुभएका राईसँग अहिले ४० घार छन्। एक वर्षमा १० देखि १४ क्विन्टल मह उत्पादन गरेर उनले वर्षमा पाँच लाख रुपैयाँ बचत गर्छन्। झापा र मोरङको बजारमा प्रतिकिलो ६ सय रुपैयाँका दरले मह बिक्री हुन्छ।
मौरीलाई चरनको कुनै समस्या नरहेको उनको भनाइ छ। वर्षायामको समयमा मौरी पाल्न केही कठिनाइ हुने गरेको र सो अवधिमा चिनीको चास्नी बनाएर खुवाउने गरेको उनी बताउँछन्। भारतमा वर्षौदेखि रोजगारी गर्दै आएका लेटाङ– ७ का राम राई पनि मौरीपालनतर्फ आकर्षित भएका छन्। नौ महिनादेखि यस व्यवसायमा जुटेका उनीसँग यतिखेर १० घार मौरी रहेका छन्।
लेटाङ– ४ राजारानीमा होमस्टे सञ्चालन गर्दै आएका दलबहादुर रानामगरले तेह्रवटा मौरीको घार राखेका छन्। उनले वार्षिक तीन क्विन्टल मह उत्पादन गरी बिक्री गर्दै आएका छन्। मोरङमा ५०० किसान मौरीपालनमा संलग्न रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। एकतीस सेरेना र मेलीसेरा जातको मौरी पालन हुने गरेको छ।
यी दुइटै जातको मौरीबाट गत वर्ष यस जिल्लामा ३३ दलमलव ३ मेट्रिक टन मह उत्पादन भएको कार्यालयका बाली संरक्षण अधिकृत सागर भट्टराईले जानकारी दिए। स्थानीय जातका सेरेनाबाट प्रतिघार आठ देखि १० किलो र उन्नत जातका मेलीसेराबाट प्रतिघार ३० किलोसम्म मह उत्पादन हुने गरेको छ। रासस
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*