timthumb-phpमुलुकका ३६ जिल्लामा दुई हजार ९४१ रोपनी क्षेत्रफलमा व्यावसायिक पुष्पखेतीबाट रु ६७ करोड १४ लाख ४६ हजार आम्दानी भएको छ भने कुल गार्हस्थ्य उत्पादनमा यस वर्ष रु ४५ करोडले योगदान पुगेको छ ।
पुष्प व्यवसायीको छाता सङ्गठन ‘फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल’ (फ्यान) स्थापना भएको करिब २५ वर्षपछि सरकारले सार्वजनिक गरेको व्यावसायिक पुष्पखेती सर्वेक्षण २०७२ मा सो कुरा उल्लेख छ । राष्ट्रिय योजना आयोगको सचिवालय, केन्द्रीय तथ्याङ्क विभागद्वारा सार्वजनिक गरिएको उक्त सर्वेक्षणअनुसार सबैभन्दा धेरै तामाङको २८ प्रतिशत सहभागिता छ ।
विभागका उपमहानिर्देशक रुद्र सुवाल र बद्री कार्कीले संयुक्त रुपमा सार्वजनिक गरेको उक्त सर्वेक्षणमा हिमाल र पहाडमा आठ आना तथा तराईमा १० धुर जमिनलाई आधार मानी तथ्याङ्क सार्वजनिक गरिएको छ । सर्वेक्षणमा ५६१ व्यवसायीले पुष्पखेती व्यवसाय सञ्चालन गरेका र सबैभन्दा धेरै प्रदेश नं ३ मा ३८१ व्यवसायी आवद्ध रहेको उल्लेख छ ।
नेपालमा पुष्पखेती व्यावसायिक ढङ्गले सुरुवात भएको करिब २३ वर्ष पुगिसक्दा पनि पुष्प व्यवसायमा नेपाल आत्मनिर्भर हुनसकेको छैन । संस्कार र संस्कृतिलाई जोड्ने हेतुका रुपमा प्रयोग गरिने पुष्प व्यवसाय भारत, थाइल्यान्ड, फ्रान्स, बेलायत, जापान, नामेविया, इटालीलगायतका मुलुकबाट आयात भइरहेको बताइन्छ । गत वर्ष गुलाफको फूल मात्र रु ४० लाखको आयात भएको थियो ।
सबैभन्दा धेरै काठमाडौँमा २८३ फार्म, ललितपुरमा ४०, मोरङमा २३, कास्कीमा २२ र भक्तपुरमा २० वटा फार्ममा पुष्पखेती व्यवसाय भइरहेको सर्वेक्षणमा उल्लेख छ । सर्वेक्षणले २७९ पुष्पखेती व्यवसायीले प्रमुख उत्पादन मौसमी, बहुवर्षे, आलङ्कारिक, बिरुवा भएको देखाए पनि ४७ व्यवसायीले कटफ्लावर, २२० ले लुज फ्लावर, १४ ले गार्डेन दुबो र एक व्यवसायीले बीउ उत्पादन गरिरहेका छन् ।
पुष्प व्यवसायी विश्वमणि पोखरेल बजारमा फूलको माग बढेको भए पनि आवश्यकताअनुसारको उत्पादन दिन नसकिएको बताउछन । गुलाफ, कारनेसन, जर्वेरा, ग्लाडियोलस, सयपत्री, गोदावरीलगायतका नेपाली कट फ्लावरको माग नेदरल्यान्ड, हल्यान्ड, थाइल्यान्ड, अमेरिका लगायतका देशमा भइरहेको बताइन्छ ।
सरकारले कृषि क्षेत्रमा अनुदान बढाएको छ । बजार छ तर उत्पादन छैन । करिब रु पाँच अर्बको लगानी रहेको पुष्प व्यवसायमा हाल ७२ हजार ३८५ व्यक्तिले रोजगार पाइरहेका छन् । फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले उत्पादनको भरपुर सम्भावना भए पनि बढ्दो मागलाई ध्यान दिन नसकिएको बताए ।
सर्वेक्षणले मौसमी पुष्पअन्तर्गत सयपत्री, पिटुनिया, डालिया, जिनिया, प्यान्जी, बहुवर्षे पुष्पतर्फ गुलाफ, बगानबेली, गोदावरी, एजेलिया, कार्नेसन, आलाङ्कारिक पुष्पतर्फ धुपी, हेज, पाम, अशोका, एरिका कटफ्लावरतर्फ कर्नेशन, जर्वेरा, गुलाफ, ग्याडुलस, क्यालेनडुला र लुज फ्लावरतर्फ सयपत्री, लाहुरे, गोदावरी, एकान्ते र ताराको व्यावसायिक खेती गरिएको सर्वेक्षणमा उल्लेख छ ।
पुष्प व्यवसायमा काठ र बाँसबाट ९९६ टनेल, १८२ ग्रिन हाउस, जिआइ पाइप फ्रेमबाट ४३ ग्रिन हाउस, एसएस पाइप फ्रेमबाट ३१ ग्रिन हाउस, २६ वटा टनेलमार्फत थप पुष्पखेती गरिएको सर्वेक्षणले देखाएको छ । फूल निर्यातमा प्रचुर सम्भावना छ तर कामभन्दा कुरा धेरै गर्ने नीति निर्माताको अदुरदृष्टिका कारण आयात प्रतिस्थापन गर्न सकिएको छैन भन्छन, पुष्प व्यवसायी विश्वमणि पोखरेल ।
विभागका महानिर्देशक सुमनराज अर्यालले पुष्पखेती व्यवसाय सञ्चालकमध्ये २९ प्रतिशत प्रमुख सञ्चालक रहनु सकारात्मक रहेको बताए । सामान्यस्तरमा सुरु भएको पुष्पखेती व्यवसाय आव २०७०-७१ मा सिजनल फूल बिरुवातर्फ रु २१ करोड ६८ लाख, आलङ्कारिक बोट बिरुवातर्फ रु ३८ करोड १५ लाख, कट फ्लावर्सतर्फ रु २० करोड ४५ लाख, ल्यान्डस्केप तथा गार्डेनिङतर्फ रु १७ करोड चार लाख, खुला फूलतर्फ रु छ करोड ७० लाख, सामग्री आपूर्तितर्फ रु १२ करोड ४० लाख, अन्यतर्फ रु आठ करोड ३३ लाख र निर्याततर्फ रु तीन करोडको कारोबार भएको तथ्याङ्कमा उल्लेख छ ।
भाडामा लिएर पुष्पखेती गर्ने ६१ प्रतिशत, आफ्नो जग्गा आफैँ चलन गरी खेती गर्ने ३८ र अन्य उपभोगअन्तर्गत पुष्पखेती गर्ने एक प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ । त्यसैगरी २६ प्रतिशतले ऋण लिएकोमध्ये ३६ ले सहकारी, २७ ले कृषि विकास बैंक, २६ ले अन्य वित्तीय संस्था र ११ प्रतिशतले अन्य स्रोतबाट ऋण लिएर व्यवसाय गरेको उल्लेख छ । प्रचुर सम्भावना बोकेको पुष्प व्यवसायका लागि सरकारले ‘पुष्प प्रवद्र्धन नीति २०६९’ जारी गरी पुष्प प्रवद्र्धन कार्यक्रम कार्यान्वयन कार्ययोजना लागू गरेको छ । रासस
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*