timthumb.php५७ सालतिर देशमा माओवादी द्वन्द्व उत्कर्षमा पुगेको थियो। व्यापार व्यवसाय गर्न वातारण बनेको थिएन। चन्दा आतंकले धनीमानी गाउँ प्रवेश गर्न सक्ने अवस्था थिएन। गाउँका अधिकांश युवाहरु सशस्त्र द्वन्द्वमा होमिएका थिए। जान नमान्ने युवाहरुलाई अपहरण गरेर भएपनि माओवादीले लैजान्थ्यो।

सिएमएको पढाइ सकेर गाउँमै सेवा गर्नुपर्छ भन्ने भावना भएका श्रीकृष्ण अधिकारीले मकवानपुर चुरियामाई मयुरधापमा मेडिकल पसल खोले, सामान्य उपचार गर्न थाले। सोचेको जस्तो गरी मेडिकल संचालनमा नआएपछि उनी वैदेशिक रोजगारीका लागि काठमाडौं आउँदै म्यानपावर चर्हान थाले।

५९ सालतिर उनी इजरायल जाने निधोमा पुगे। कृषि फार्ममा काम गर्न ६ लाखभन्दा बढी तिरेर इजरायल पुगे। इजरायलको कृषि फार्ममा पुगेपछि उनी अचम्ममा परे। नेपालको उर्वर भूमी छाडेर इजरायलको कृषि फार्म पुगेका अधिकारीले बालुवामा तरकारी फलेको देखे।  इजरायलको कृषि फार्ममा उनले सोचेजस्तो पाखुरीको बल लगाएर खनजोत गर्नु पर्ने रहेनछ। मेसिनले नै खन्ने र तरकारी रोप्ने रहेछ।

नेपालमा शान्ति र काम गर्ने वातावरण नभएको भन्दै इजरायल पुगेका अधिकारीले त्यहाँ पुगेपछि देखे — आखैं अगाडि बम विस्फोट भएको दृश्य। उनी प्यालेस्टाइन र इजरायलको विवादित क्षेत्र गाजामा काम गर्न गएका थिए। बेलाबेलामा प्यालेस्टाइनको हमासले उक्त क्षेत्रमा हमला गरिरहन्थ्यो।

घर छोडेर इजरायल पसेका उनी आफ्नो ज्यान जोगाउन बेलाबेला बंकरमा पस्थे। ‘प्यालेस्टाइनतर्फबाट बम आउनसक्ने माइकिङ हुन्थ्यो अनि हामी ३ देखि चार सेकेण्डमा बंकरमा पसि सक्नुपर्दथ्यो,’ उनले भने । पछि उनी गाजाको कृषि फार्मबाट इजरायलको नेतीबोडको कृषि फार्ममा काम गर्न गए।

नेतीबोड पुगेपछि उनले बल्ल बम र द्वन्द्वबाट छुटकारा पाए। द्वन्द्वबाट छुटकारा पाएपछि भने उनले आफ्नो रोजगारीलाई सिप सिक्ने मौकाको रुपमा लिए।

प्रविधिको प्रयोगले बालुवामा तरकारी उत्पादन गरेको देखेपछि उनले कैँयन पटक आफ्ना देशका उर्बर बारीहरु बाँझो भएको सम्झे। खेती गरिएका जग्गामा पनि कृषकको पाखुरी नै प्रविधि बनेको सम्झेर उनले इजरायलमा सिकेको सिप नेपालमा भित्राएर कैँयन कृषकलाई सीप सिकाउने प्रण गरे।

कृषि प्रधान मुलुक नेपालमा शिप र प्रविधिको अभावले प्रत्येक वर्ष उत्पादन घट्दै उनले देखेका थिए। ९ वर्ष सम्म उनी इजरायल बसे, कृषि सम्बन्धी शिप र प्रविधि सिके। अनि स्वदेश फर्के।

इजरायलबाट फर्किँदा नेपालको एयरपोर्टमा कैँयन युवा कामको खोजीमा विदेश पस्न लागेको देख्दा उनलाई खिन्न अनुभव भयो।

‘नेपालीले घरमै रोजगार सिर्जना गर्न सक्छन, तर हामी झोला बोकेर सहरमा जागिर खोज्न हिड्छौं,’ उनी भन्छन् ‘बाउ हलो बोकेर खेत पस्छन् छोरो झोला बोकेर जागिर खोज्न हिँड्छ।’

उनले भने , ‘छोराहरुले जागिर खान सहर वा विदेश पस्ने हैन, बाउको काँधको हलो फालेर आफूले ट्याक्टरले जोत्न जान्नुपर्छ ।’

नेपाल फर्केपछि उनले आधुनिक प्रविधिको प्रयोग गरेर कृषिजन्य उत्पादन गर्न थाले। काठमाडौं धर्मस्थलीको १२ रोपनी जग्गामा प्रवधिको प्रयोग गरी उनले टमाटर, धनियाँ लगायत अन्य तरकारी उत्पादन गर्न थाले।

नेपाली भूमीमा कृषि उत्पादन बढाउन उनले मलेसियन प्रविधि अपनाए। मेसिनबाटै सिँचाइ र मल हाल्ने इजरायली प्रबिधि पनि उनले नेपाली भूमीमा प्रयोग गरे। छिट्टै उनको कामको चर्चा हुन थाल्यो।

उनको फार्ममा प्रविधिको प्रयोग गरी तरकारी उत्पादन गरेको हेर्न आउनेको भिड बढ्न थाल्यो। कृषकहरु उनको फार्मको अबलोकन गर्न आए। अन्य कृषकले आफ्नो कृषि फार्ममा पनि त्यस्तै प्रविधि जडान गर्न आग्रह गर्न थाले। धेरै कृषकको यस्तो आग्रह पछि उनी कृषक मात्रै होइन, कृषि प्रविधिको व्यापारी समेत बने।

उनी ६ लाख तिरेर महिनाको ६० हजार तलब खाने गरि इजरायल गएका थिए। नौ वर्ष काम गरेर फर्किने बेलामा उनको तलब डेढ लाख पुगेको थियो। ‘खेति र कृषि औजारको व्यवसायबाट अहिले सजिलैसँग मेरो महिनाको तीन लाख भन्दा धेरै आम्दानी हुन्छ,’ उनी भन्छन।

तर उनी आज पनि आफुलाई कृषक नै भन्न रुचाउँछन्। विभिन्न स्थानमा फार्म खोलेका छन् भने केही स्थानमा खोल्ने योजना तयार गरेका छन्। अहिले धर्मस्थलीमा उनको कृषि फार्म छ भने माछापोखरीमा कृषिजन्य प्रविधिको पसल।

अधिकारीले आफ्नो कृषि फार्ममा तरकारी उत्पादन गर्न अपनाएको थोपा सिँचाई, ‘मल्चीङ प्लाष्टिक’ र ‘ट्रे’मा बिरुवा उमार्ने प्रविधि अहिले ३४ जिल्लामा फैलिसकेको छ। उनले विभिन्न जिल्लामा गएर इजरायली कृषि प्रविधि सम्बन्धि तालिम समेत दिने गरेका छन्। साथै  विभिन्न स्थानमा त्यो प्रविधिका सामान निःशुल्क समेत उपलब्ध गराउँछन्।

उनले माटो बिना तरकारी उत्पादन गर्ने सिप सिकेका छन्। गमलामा नरिवल जटाको धुलोमा तरकारी उत्पादन गर्न सकिन्छ भनेर उनले प्रमाणित नै गरिदिएका छन्। धनियाँ भान्टा तथा साग नरिवल जटाको धुलोमा उत्पादन गर्ने गरेका छन्।

काठमाडौंको कौसी खेतीमा माटोभन्दा नरिवल जटाको धुलोबाट तरकारी उत्पादन गर्न उचित हुने उनी बताउँछन्। उनले भने ‘नरिवल जटाको धुलोको तौल ज्यादै कम हुन्छ जसले गर्दा छतमा धेरै भार पर्दैन।’

कौसी खेतीमा नरिवलको जटाको धुलोबाटो तरकारी उत्पादन गर्ने अभियान चलाउन उनी विभिन्न सरकारी अड्डा धाएका छन्। तर कसैबाट पनि उनले सहयोग पाएका छैनन्।

इजरायलमा गएर सिकेर आएको थोपा सिँचाइ र मल्चीङ प्लाष्टिक प्रविधि अहिले नेपालका धेरै कृषक माझ लोकप्रिय भइसकेको छ। उनको सालुम कम्पनीले अहिले विभिन्न जिल्लाका कृषकसम्म पुगेर ग्रिन हाउस निर्माण, थोपा सिँचाई प्रणाली जडान, मल्चीङ प्लाष्टिक र कोकोपिट प्रविधिको सेवा पुर्याउने गरेको छ। इजरायलको फार्ममा काम गरेर फर्केका तीनजना प्राविधिक र अन्य ४ जना गरी उनीसँग जम्मा ७ जना प्राविधिक छन्।

‘थोपा सिँचाई प्रणाली, जसबाट समान रुपमा बिरुवामा पानी बितरण गर्न सकिन्छ। यो प्रविधिको सहायताले थोरै पानीबाट धेरै बिरुवामा पानी पुर्याउन सकिन्छ किनकी यसले बिरुवामा मात्रै पानी खसाल्छ र अन्त खेर जान दिदैँन। साथै थोपा सिँचाई प्रणाली मार्फत् नै मल समेत बितरण गर्न सकिने उनको भनाई छ।

उनले भित्र्याएको मल्चीङ प्लाष्टिक प्रविधिले लगाएको तरकारी खेतीमा झार उम्रनबाट बचाउँछ। यो प्रविधिमा बिरुवा राखेको स्थानबाहेक अन्य स्थानमा प्लाष्टिक राखिएको कारण झार उम्रन पाउदैन। ‘मैले जीवनमा कहिले पनि कृषक बन्छु होला र कृषकलाई यो सीप सिकाउँला भनेर सोचेको थिईन तर मेरो देशको बिग्रेको राजनीतिले विदेश पुर्‍याएर आज यहाँ ल्यायो’ अधिकारीले भने।

नेपालको कृषि क्षेत्रमा प्रगति गर्न नसक्नुको कारण पनि पत्ता लगाएर आएका छन्।

‘प्रविधिसँग नखेलेर नै नेपाल पछि परेको हो, कृषिमा आधुनिकीकरणको अभाव नै नेपालको कृषि क्षेत्रले फड्को मार्न नसक्नुको प्रमुख कारण हो,’ उनले भने।

सेतोपाटी

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*