सविन शर्मा

हामीले आफ्नो खेतबारी तथा वनमा धेरै प्रकारमा झारपात तथा झाडी देख्दै आएका छौं । खेती किसानी गर्दा यस्ता धेरै झारपात तथा झाडीहरूलाई काट्ने तथा उखेलेर मास्ने प्रयास गर्दछौं । तर एकदुई महिनामा नै यिनीहरू पुनः देखा परिहाल्छन् । यति मात्र होइन, वनमा प्रत्येक वर्षजसो नै झाडी सफाइ गर्ने सरकारले कार्यक्रम नै सञ्चालन गर्दै आएको छ । झाडी सफाइ गर्दा वनमारा, माइकेनिया, बोक्सीकाँडा, उन्यू, घंघारुजस्ता वनस्पति हटाइए पनि केही वर्षपछि यी प्रजातिहरूले वनलाई पहिलाजस्तै ढाक्दछन् । हानिकारक वनस्पतिले इच्छाइएका प्रजाति (जस्तै ः अन्नबालि, फलफूल, डालेघाँस, काठ उत्पादन हुने खालका रूख आदि) सँग प्रकाश, पानी तथा पौष्टिक तŒवका लागि प्रतिस्पर्धा गर्दछन् र अपेक्षित उत्पादनका लागि बाधा पु¥याउँछन् ।

यिनीहरूमध्ये उन्यूँ, घंघारुलगायत झार तथा झाडीहरू स्थानीय पर्यावरणका रैथाने हुन् भने वनमारा, माइकेनिया आदि नियतवश वा अन्जानमा स्थानीय पर्यावरणमा भित्रिएका वनस्पति हुन् । सामान्य अर्थमा आफ्नो ऐतिहासिक रैथाने वासस्थानभन्दा बाहिरको वातावरणमा हुर्किएको, हावा तथा कीराहरूको माध्यमबाट सजिलैसँग परागसेचन हुने, जरा, काण्ड वा अन्य कुनै भागबाट समेत नयाँ बिरुवा उत्पादन गर्न सक्ने, एक पर्यावरणबाट अर्को पर्यावरणमा तुलनात्मक रूपमा छिटो र सजिलै विस्तार हुने, छिटो बढ्ने र चाँडै वयस्क हुने, परजीवी तथा कीराहरूले कम आक्रमण गर्ने र वस्तुभाउले कम मन पराउने झार तथा झाडीहरू मिचाहा प्रजाति हुन् ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) जस्ता निकायहरूले मिचाहा प्रजाति र जलवायु परिवर्तनलाई संयुक्त रूपमा जैविक विविधता संरक्षण र वातारणीय सेवा परिचालनका लागि चुनौतीका रूपमा रहेका छन् । मिचाहा प्रजातिहरूले स्वस्थ वातावरणको हैसियत बिगार्ने मात्र होइन, त्यसको विनाश नै गर्ने भएको यसलाई चुनौतीका रूपमा लिइएको हो । नेपालजस्तो कृषि तथा वनमा आधारित समाजका लागि त यी प्रजातिहरू निकै अभिशापका रूपमा लिइन्छ । यसैले गर्दा नेपाल सरकारले समेत मिचाहा प्रजातिहरूलाई वन विनाशका नौवटा मुख्य कारणमध्ये एउटा कारणका रूपमा लिएको छ ।

मिचाहा प्रजातिका फाइदा

मिचाहा प्रजातिहरूले स्थानीय पर्यावरणको क्षयीकरणका माध्यमबाट तहाँको उत्पादकत्व घटाउँछन् । ‘नेपालजस्तो आर्थिक हिसाबमा गरिबीको कुचक्रमा रहेको देशका लागि यी प्रजातिहरूको उन्मूलन गर्ने कार्य कठिन छ,’ आईयूसीएनअन्तर्गतको बायो इनर्जी परियोजनाका फरेस्ट्री कोअर्डिनेटर सुमन घिमिरेले भने, ‘मिचाहा प्रजातिका थोरै गुण र धेरै अवगुण छन् । तत्काल समूल नष्ट गर्न नसकिने भएका कारण प्राप्त गर्न सकिने फाइदाहरूको अत्यधिक प्रयोग गरे यिनीहरूको विस्तार तथा नकारात्मक असरहरू कम गर्न सकिन्छ ।’
नेपालको अधिकांश भाग भिरालो छ । भिरालो जमिन वनस्पतिविहीन रहँदा भूक्षयको सम्भावना बढी हुन्छ । कुनै पनि वनस्पति नभई नांगो पाखो मात्र रहनुभन्दा वनमारा वा अन्य कुनै झाडीहरू रहेको अवस्थामा तिनीका जराले माटोलाई समातेर राख्ने भएको हुँदा भूक्षय कम हुन्छ । कलिलो अवस्थामा रहेका मिचाहा प्रजातिहरू वस्तुभाउको घाँसका रूपमा पनि प्रयोग गरिन्छ भने केही मिचाहा प्रजातिलाई गाईभैंसीको मलमूत्रसँग मिसाएर तरकारीमा लागेको ढुसी तथा कीराहरू भगाउनसमेत प्रयोग गर्ने गरिएको छ । मिचाहा प्रजातिहरूको अर्को महŒवपूर्ण प्रयोग भनेको यसबाट चारकोल उत्पादन गर्ने हो ।
चारकोल उत्पादनका लागि सर्वप्रथम विभिन्न झिँझा, झारपात तथा झाडीहरूजस्ता बायोमासलाई अति कम हावा भएको बन्द भाँडोमा ४०० डिग्री सेल्सियसदेखि ६०० डिग्री सेल्सियससम्मको उच्च तापक्रममा बालेर चारकोल तयार पारिन्छ । यसरी उत्पादन गरिएको चारकोललाई कृषि औजार तथा गहना बनाउने आरान, इँटाभट्टा, चाउमिन उद्योग, दूध डेरी, कपडामा लगाउने रङ तताउन आदि स्थानमा इन्धनका रूपमा प्रयोग गरिन्छ । सुत्केरी महिला तथा बच्चा सेक्न, कोठा तातो बनाउन तथा खाना पकाउनसमेत प्रयोग गरिने ब्रिकेट पनि चारकोलबाट नै बन्दछ । होटल तथा रेस्टुरेन्टहरूमा सेकुवा पोल्न चारकोलको प्रयोग हुन थालेको छ ।

चारकोलबाट आम्दानी र रोजगारी

मिचाह प्रजातिजन्य वनस्पतिबाट दुई मानिसले तीनदेखि चार घण्टामा लगभग ६ सय ५० केजीसम्म बायोमास संकलन गर्न सक्छन् । उत्पादन तथा गुणस्तर दुवै बढी लिन र मानव स्वास्थ्यमा कम असर होस् भन्नका लागि फलाम तथा टिनका भाँडाहरूमा चारकोल उत्पादन गरिन्छ । यी भाँडाहरू सामान्यतया चार फिट अग्ला र पाँच फिट व्यासका हुन्छन् । बायोमास संकलन गरी एक ठाउँमा घाटगद्दी गरेको अवस्थामा एक भाँडो चारकोल तयार गर्न दुईदेखि तीन घण्टा समय लाग्दछ । गत वर्षको बजारमा चारकोलको प्रतिकेजी औसत मूल्य १८ रुपैयाँ थियो । यसरी पाँचदेखि आठ घण्टा समयको लगानीमा दुई व्यक्तिले १ सय ३० केजी चारकोल उत्पादन गरी २ हजार ३ सय ४० रुपैयाँ आम्दानी गर्न सक्छन् ।


चारकोल उत्पादनको काम वर्षभरि नै गर्न सकिँदैन । यसका लागि पुसदेखि वैशाखसम्मको समय उपयुक्त हो । ६ महिनामा एक व्यक्तिले आफ्नो घरको कामलाई समेत सँगसँगै लग्दा समेत सालाखाला १ लाख २६ हजार रुपैयाँ कमाउन सक्छ । नेपालमा रोजगारीको समस्याका कारण आफू र आफ्ना सन्ततिको उज्ज्वल भविष्यका लागि युवा शक्ति बिदेसिएका छन् । वैदेशिक रोजगारीका अलावा आफ्नो थातथलो छोडी सहर पस्ने जमात पनि बाक्लो छ । हाम्रा प्राकृतिक स्रोतहरूको भरपुर उपयोग हुन सकेको छैन । पछिल्लो एक अध्ययनअनुसार नेपालका तराईका सामुदायिक वनमा प्रतिहेक्टर १२ दशमलव ८७ मेट्रिक टन झाडीजन्य बायोमास छ । पहाडमा यो ६ दशमलव ३७ मेट्रिक टन प्रतिहेक्टर रहेको छ । यस तत्थ्यांकलाई आधार मान्दा नेपालमा हाल कायम १८ हजारभन्दा धेरै सामुदायिक वन, ७ सयभन्दा बढी कबुलियती वन तथा चौबीस साझेदारी वनमा लाखौं मेट्रिक टन बायोमास रहेको छ ।
चारकोल उत्पादनमा सहयोग गरिरहेका विभिन्न संघ÷संस्थाको अनुभव र उनीहरूले राखेको आन्तरिक तत्थ्यांकका आधारमा हेर्दा दुई मेट्रिक टन चारकोलको उत्पादनदेखि यसको बजारीकणसम्म कम्तीमा तीन व्यक्तिले नियमित रोजगारी पाउँछन् । नेपालको वनमा चारकोल उत्पादनका लागि आवश्यक पर्ने झाडीहरूको कमी छैन । यस्ते भारतबाट आयात हुने पत्थर कोइलालाई विस्थापित गर्न सक्छ ।

चारकोल उत्पादनका फाइदा

चारकोल उत्पादन गर्दा रोजगारीको सिर्जना हुने र स्थानीय समुदायका गरिबहरूले आम्दानी गर्ने मात्र होइन, अन्य धेरै फाइदा पनि छन् । नेपालको वनमा हरेक वर्षको हिउँदमा आगलागी भई धेरै क्षति हुने गरेको छ । आगलागी हुँदा प्रत्येक वर्ष अर्बौंको नोक्सानी राज्यले बेहोरिरहेको छ । अझ यसले पर्यावरणमा पु¥याएको क्षतिलाई समेत हेर्ने हो भने अवस्था झनै गम्भीर छ । आगलागीको मुख्य कारण नै वनको भुँइसतहमा प्रशस्त झाडी हुनु हो । यस्ता झाडीहरू हटाउँदा आगो लाग्ने सम्भावन न्यून हुन्छ ।
रूखबाट झरेका बीउ उम्रन यसले माटोको सतह भेट्नुपर्दछ । तर हाम्रो वनमा झाडीहरू यति धेरै छन् कि रूखबाट झरेका बीउ झाडीहरूका बीचमा हराउन सक्छ । बीउ माटोमा पुगिहाले पनि प्रकाशका अभावमा उम्रन सक्दैन । बल्लतल्ल उम्रिन सक्यो भने पनि ठूलो हुने सम्भावना ज्यादै कम हुन्छ । यदि हामीले हाम्रो वनमा रहेका वनमारा तथा अन्य झाडीहरू हटाउने हो भने बीउ अंकुराउन र यसको प्राकृतिक वृद्धि हुन मद्दत पुग्दछ ।
नेपालमा भारतबाट प्रतिवर्ष लाखौं मेट्रिक टन पत्थर कोइलाको आयात हुन्छ । एक मेट्रिक टनको हालको औसत बजार मूल्य २५ हजार छ । यस अर्थमा हामीले प्रत्येक वर्ष पत्थर कोइलाको खरिदका लाथि करोडौं रुपैयाँ भारत पठाइरहेका छौं । पत्थर कोइलाको प्रयोग वातारणीय कारणले पनि हानिकारक छ । यसको प्रयोग गर्दा कार्बनडाइअक्साइडको उत्सर्जन हुन्छ । कार्बनडाइअक्साइड एउटा मुख्य हरितगृह ग्याँस हो, जसले विश्व तापक्रम वृद्धिमा टेवा पु¥याई जलवायु परिवर्तनलाई सहयोग गरिरहेको हुन्छ । चारकोलले पत्थर कोइलालाई विस्थापित गर्न सक्छ, जसले गर्दा कोइला खरिदका माध्यमबाट नेपालबाट भारतमा जाने रकम कम गर्न र वातावरणमा कार्बनडाइअक्साइडको उत्सर्जन घटाउन मद्दत गर्दछ ।राजधानीबाट साभार

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*