वन्यजन्तुको त्रासले घर छाडेर हिंडेका चितवन राष्टिय निकुञ्ज मध्यवर्ती क्षेत्रका बासिन्दाहरूले शुक्रबार राति नारायणी नदी किनारमा रात काटे। स-साना नानीहरू च्यापेर आएका गाउँलेहरूले राम्रोसँग खान पनि पाएनन्। बिहीबार गाउँ छाडेका उनीहरू शनिबार बिहानमात्र घर फर्के। कान्तिपुरमा खबर छ । स्थानीय विकास अधिकारी भरतमणि पाण्डे, प्रहरी उपरीक्षक सहकुल बहादुर थापालगायतको टोलीले दसैंसम्म सुरक्षित बासको व्यवस्था गर्ने आश्वासन दिएपछि उनीहरू र्फकेका हुन्। ‘साँझ अबेर आश्वासन पाए पनि गाउँ र्फकने स्थिति थिएन,’ विस्थापित भीमबहादुर विकले भने, ‘त्यसैले नारायणी नदीको तिरमा रात कटाउन बाध्य भयौं।’ ban

स्थानीय विकास अधिकारी भरतमणि पाण्डेले मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्याबारे अध्ययन गर्न सहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुखको संयोजकत्वमा कार्यदल
गठन भएको बताए। ‘कार्यदलले अध्ययन, अवलोकनपश्चात् दिएको प्रतिवेदनको आधारमा विस्थापितलाई पुनर्वासको व्यवस्था मिलाइनेछ,’ उनले भने, ‘दसैं अगाडि केही गर्न सक्ने स्थिति छैन।’ सबै कर्मचारी बिदा जान लागेका छन्। भौतिक योजना तथा निर्माण मन्त्रालयले ती बस्तीको प्राविधिक प्रतिवेदन मागेको प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विकले बताए।
दैवी प्रकोप उद्धार समितिले अध्ययन गरेपश्चात् दिने प्रतिवेदनको आधारमा कागजात तयार गरी मन्त्रालयमा पठाउने उनले बताए। ‘प्रतिवेदन आएपछि मात्र विस्थापितका लागि केही गर्न सकिनेछ,’ उनले भने, ‘प्रतिवेदन आएसम्म केही गर्न मिल्दैन।’ वन्यजन्तुको त्रासले माडी क्षेत्रका २ गाउँका बासिन्दा सुरक्षित बासस्थान माग्दै शुक्रबार सदरमुकाम भरतपुर आएका थिए। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्ने गर्दी १ को अमिलिया र बघौडा ५ सिमराका बासिन्दा निकुञ्जका वन्यजन्तुद्वारा सताइएका हुन्।
दिनहुँ ४/५ वटाको समूहमा गाउँ पस्ने जंगली हात्तीले जनधनको क्षति पुर्‍याउन थालेपछि उनीहरू गाउँ छाड्न बाध्य भएका थिए। अमिलियाका ५१ घरपरिवार र सिमराका १ सय २० घर परिवार गाउँ छाडी सदरमुकाम आएका थिए।
जंगली हात्तीले घर भत्काउने, मान्छे मार्ने, अन्नपात खाने, कपडा च्यात्ने, खानेकुरा नष्ट गरिदिनेजस्ता क्रियाकलाप जारी राखेपछि आफूहरू गाउँ छाड्न बाध्य भएको उनले बताए। ‘गाउँमा बस्नै नसक्ने स्थिति अहिले सिर्जना भएको छ,’ उनले भने, ‘रातभरि हात्तीको, शिरमा पानी पर्दा बाढीको डर?’ दैनिक राति ८/९ बजेदेखि बिहान ४/५ बजेसम्म गाउँमा हात्तीको समूह घुमिरहने अवस्था छ। ‘बोल्दा, बत्ती/टर्च बाल्दा त्यतैतिर हात्ती दौडने गर्छन्,’ उनले भने, ‘त्यस्तो अवस्थामा गाउँमा कसरी बस्ने?’

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*