घोराही १४ की लक्ष्मी केसीले छोरा युजेन र छोरी आयुष्कालाई उपहारस्वरूप एक/एक बिरुवा रोपिदिइन्। घोराहीका देव यादवले वैवाहिक उत्सवका अवसरमा श्रीमती आरएल जोशीलाई उपहारस्वरूप एक बिरुवा रोपे। मावि नारायणपुरका प्रधानाध्यापक टोपबहादुर केसीले स्वर्गीय आमा पञ्चकली केसीको स्मृतिमा त्यसै गरे।

घोराहीमा प्रियजनलाई उपहारस्वरूप केही सामान किनेर दिनुको साटो आफन्तको नाममा खर्चिलो दान दातव्यका ठाउँमा बिरुवा रोप्ने चलन निकै लोकप्रिय बन्दै गएको छ। रोपिएको बिरुवाको संरक्षण हुने र बिरुवाले सधैं आफन्तको सम्झना दिलाइरहने भएकाले यस्तो अभियान थालिएको हो। घोराहीको वनगाउँस्थित बराहक्षेत्र माविमा रहेको खाली जग्गामा कसैको सम्झना या उपहारस्वरूप वृक्षरोपण गर्ने गरिएको छ।
पूर्वविद्यार्थी र विद्यालय प्रशासनले बिरुवाको संरक्षणमा सबैको चासो वृद्धि गर्न यस्तो नयाँ अभियान सुरुवात गरेको हो। ‘बिरुवा त हामी आफंै पनि सयौंको संख्यामा रोप्न सक्छौं तर त्यसको संरक्षणमा कसैको चासो हुँदैन,’ पूर्वविद्यार्थी समाजका सदस्य माधव केसीले भने, ‘आफन्तको नाममा बिरुवा रोपिए त्यसको संरक्षण गर्न सम्बन्धित व्यक्ति नै जिम्मेवार हुने भयो। पटकपटक बिरुवा हेर्न र पानी चार्न आफैं आउने भए। यसले अपनत्व बढाउँछ।’
रूखबिरुवाप्रति मानिसको मोह बढाउन र वातावरण संरक्षणमा सबैको चासो वृद्धि गर्न यस अभियानले सघाउ पुर्‍याएको पूर्वविद्यार्थी समाजकी सदस्य लक्ष्मी केसीले बताइन्। ‘आफूले रोपेको बिरुवा संरक्षण गर्न सम्बन्धित मानिसलाई नै बढी चासो हुन्छ। आफ्ना प्रिय मानिसको सम्झनामा रोपिएकाले पटक–पटक हेर्न जाने पनि भयो,’ उनले भनिन्, ‘बिरुवा जीवित हुँदासम्म आफन्तको सम्झना
भइरहने भयो।
वातावरण संरक्षणमा टेवा पुर्‍याउँदै जलवायु परिवर्तनका असरलाई कम गर्न र विद्यालयको आम्दानीको स्रोत बढाउन स्मृति वृक्षको अवधारणा ल्याइएको प्रधानाध्यापक बाल्मी केसीले बताइन्। ‘स्वर्गीय आफन्तको स्मृतिमा मानिसहरू ठूलो धनराशि दान गर्छन् तर निधन भएका मानिसले पाए नपाएको केही थाहा हुँदैन,’ उनले भनिन्, ‘यहाँ एउटा बिरुवा रोपेमा यो वर्षौंसम्म रहिरहन्छ। यसले वातावरण स्वच्छ हुनुका साथै आफन्तको सम्झना दिइरहन्छ।’
वैशाख १ गते संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले शुभारम्भ गरेको स्मृति वृक्षको अभियानअन्तर्गत हालसम्म १ सय ७५ बिरुवा रोपिएको प्रअ केसीले बताइन्। अब ३ सय बिरुवा पुर्‍याउने लक्ष्य रहेको उनले जानकारी दिइन्। अधिकांश फलफूलका बिरुवा रोपिएकाले पछि आम्दानी बढ्ने विद्यालयको अपेक्षा छ। यो अभियानमा अन्य विद्यालयलाई पनि प्रोत्साहन गर्न बिरुवाबाट प्राप्त आम्दानीको ७० प्रतिशत विद्यालयले राख्ने र ३० प्रतिशत स्मृति वृक्षरोपणको काम गर्न चाहने नयाँ विद्यालयलाई सहयोग गर्ने केसीले बताइन्। ‘ठूलो जमिन खेर गइरहेका धेरै विद्यालय छन्। आम्दानी नभएर विद्यालय चलाउन कठिन भएको देखिन्छ। कसैले वृक्षरोपणको काम गर्न चाहन्छ भने हामी आम्दानीको ३० प्रतिशत सहयोग गर्छौं,’ उनले भनिन्, ‘त्यसपछि उक्त विद्यालयले पनि यही क्रमले अन्य विद्यालयलाई सहयोग गरेर विद्यालयमा हरियाली बढाउने अभियान चलाउने योजना छ।’
बिरुवा संरक्षणका लागि विद्यालयले प्रतिबिरुवा एक हजार रुपैयाँ सहयोग लिने गरेको छ। विद्यालयले उक्त रकमबाट बिरुवा किन्ने, वृक्ष रोप्नेको नाम, विवरण टाँस्ने, संरक्षण र गोडमेलको व्यवस्था मिलाउने गरेको छ। प्रत्येक बिरुवाको छेउमा उपहार दिनेको नाम विवरण लेखेर राखिन्छ। यसले गर्दा दीर्घकालसम्म पनि उपहार जीवित रहने केसीले बताइन्। दुर्गालाल केसी कान्तिपुरबाट

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*