हरि बास्तोला पोखरा

timthumb.phpव्यावसायिक कृषिको भरपर्दो विकल्पका रुपमा पाउलोनिया खेतीले स्थान पाउन थालेको छ ।

 पछिल्लो समयमा विभिन्न फलफूलमा देखिएका रोगका साथै जलवायु परिवर्तनका कारण परम्परागत रुपमा लगाइएका फलफूल एवम् रैथाने वनस्पति मर्न थालेपछि त्यसको विकल्पका रुपमा कृषकहरूले पाउलोनिया लगाउन सुरु गरेका छन् ।

त्यस्तै विकल्प खोज्नेमध्येमा लेखनाथ नगरपालिका वडा नं. १७ भरतपोखरीस्थित चैनपुरका अगुवा कृषक खगेन्द्र अधिकारी पनि छन् ।

केही वर्षयता सुन्तलामा रोग लागेर बोट मर्न थालेपछि उनले सोही जग्गामा सुन्तलाको विकल्पमा विश्वमै बहुपयोगी मानिने पाउलोनियाको व्यावसायिक खेती सुरू गरे।

कास्कीको देउराली गाविस–७ मा खरिद गरेको ७० रोपनी र चैनपुरस्थित सुन्तला बगैँचा रहेको २० रोपनी गरी कुल ९० रोपनी क्षेत्रफलमा ३० लाख रुपैयाँको लागतमा चार हजार पाउलोनियाका बिरुवा रोपेको कृषक अधिकारीले बताए।

“दुई वर्षअघि चैनपुरस्थित सुन्तला बगैँचामा परीक्षणका लागि रोपेको पाउलोनियाका दुई वटा बोट फस्टाएपछि यसको खेतीतर्फ रुचि बढेको हो,” उनले भने– “रोपेको एक वर्षमै कतिपय बिरुवा २० फिट भन्दा अग्ला भइसकेका छन् ।”

छोटो समयमा बढी फाइदा लिन सकिने र उत्पादन भएको काठ बिक्री हुँदैन कि भन्ने चिन्ता लिनु नपर्ने भएकाले पाउलोनियाको व्यवसाय सुरु गरेको बताउने कृषक अधिकारीको केही वर्षपछि काठ बिक्रीबाट वार्षिक दुई करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य छ ।

पाउलोनिया खेतीको व्यवसायसँगै जिल्लामा आफू मात्र हैन अन्य कृषकलाई पनि त्यस खेतीतर्फ आकर्षण गर्न उनले पाउलोनियाको बिरुवा समेत उत्पादन गरी बिक्री वितरण सुरु गरे ।

गृहलक्ष्मी मल्टी एग्रो फार्म नामक संस्था दर्ता गरी साविक भरतपोखरी-३ बरेलिचोक चैरपुरमा स्थापित नर्सरीबाट ५० हजार पाउलोनियाका बिरुवा उत्पादन गरिसकिएको कृषकलाई सहयोग गर्दै आएका छोरा सुरजराज अधिकारीले बताए। नर्सरीबाट कृषकबाट प्रतिबिरुवा एक सय रुपैयाँ लिने गरिएको छ ।

प्राध्यापन पेसामा संलग्न उनले बिरुवाको माग क्रमिक रुपमा बढिरहेको बताए । यस वर्ष बिरुवा बिक्रीबाट लगभग ४५ लाख रुपैयाँ आम्दानी भएपनि पाउलोनियाको बिरुवा उत्पादन लागत महङ्गो पर्ने गरेको उनको भनाइ छ । नर्सरीमा हाल दुई जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

पाउलोनियाको काठ हलुका, नमक्किने, नबाङ्गिने र नफुट्ने भएकाले यसको प्रयोग दिनप्रतिदिन बढ्दै गएको उनको अनुभव छ । उनले भने– “निकट भविष्यमा फर्निचर उद्योग सञ्चालन गरेर पाउलोनिया काठका समाग्री निर्माण गरेर बजारमा बिक्री गर्ने सोच राखेका छौँ ।”

कास्की जिल्लामा केही वर्षयता निजीस्तरमा पाउलोनियाको खेती बढेको देखिए पनि यसको व्यावसायिक खेतीलाई नेपाल सरकारले आधिकारिकता प्रदान नगरिसकेको जिल्ला वन अधिकृत प्रभात सापकोटाले बताए ।

अरु बिरुवाको तुलनामा यसले दश गुणा बढी कार्बनडाइअक्साइ शोषण गर्ने बताइन्छ । जति मात्रामा वरिपरिको कार्बन शोषण गर्छ त्यति नै पटक अक्सिजन बाहिर फाल्ने भएकाले पाउलोनिया जलवायु परिवर्तनबाट उत्पन्न दुष्प्रभावलाई रोक्न उपयोगी मानिन्छ ।

लाभदायी भएपनि यो वनस्पति मिचाहा प्रजातिका भएकाले अन्य रैथाने जातका बिरुवाका लागि भने घातक हुने सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष गणेश कार्कीको धारणा रहेको छ ।

समुद्री सतहबाट चार सयदेखि दुई हजार तीन सय मिटरसम्मको उचाइमा रोप्न सकिने पाउलोनियाको वृक्ष धेरै पानी, तातो ठाउँ र दोमट माटोमा राम्रोसँग हुर्कने भएता पनि चिम्ट्याइलो देखि बलौटेसम्मका माटोमा समेत फस्टाउने विज्ञहरुको बताउँछन् । पाउलोनिया ठीकसँग फस्टाउन माटोको पिएच पाँच देखि आठसम्म हुनुपर्दछ ।

माटोको मलिलोपन र सम्बर्धनमा निर्भर रहने पाउलोनियकाको बिरुवा रोपेको एक वर्षको अवधिमा २० देखि २५ फिट अग्लो हुन्छ । यो वनस्पतिको मुख्य विशेषता नै तीव्र वृद्धिदर हो । वृक्षरोपण गरेको १० वर्षमा एउटा बोटबाट ४० देखि ६० क्यूफिट काठ उत्पादन भई एक लाखदेखि एक लाख ५० हजार रुपैयाँसम्म आम्दानी लिन सकिने बताइन्छ ।

अन्तर्राष्ट्रिय बजारमा प्रति क्यूफिट दुई हजार पाँच सयदेखि चार हजार मूल्य रहेको पाउलोनियाको काठ विशेष गरी झ्याल, ढोका, खापा, पलङ, सोफा, दराज, आल्मारी, घर्रा, टेबल, कुर्सी, पार्केटिङ, विभिन्न खाले मूर्ति, घरका भित्ता, भित्री पर्खाल, सिलिङ र भित्री छाना बनाउन उपयुक्त मानिन्छ ।

विशेष गरी विश्वका ठूला मुलुकहरुमा पाउलोनियाको काठबाट हवाइजहाज, ग्लाइडर, पानीजहाज, वायुयान लगायतका उपकरणहरु निर्माणमा प्रयोग गरिँदै आइएको छ भने सामग्री निर्माणसँगै निस्केको धुलोबाट सिरानी, गद्दी, चकटी जस्ता घरायसी सामग्री भित्र भर्न, चिस्यान यन्त्रहरुमा कुचालकका रुपमा काम लिन, गाईबस्तुको सोत्तरको रुपमा प्रयोग गर्न मात्रै हैन घरभित्र ओस भएको ठाउँमा तथा खेलौनामा समेत उपयोग गर्न सकिन्छ ।

संसारमै सबैभन्दा छिटो बढ्ने बहुगुणी वनस्पति पाउलोनियसी परिवारमा पर्ने पाउलोनिया प्रजातिको यो वनस्पतिको उत्पत्ति स्थल चीन भएपनि हाल एसिया तथा यूरोपका देशहरुमा खेती भइरहेको छ । चीनमा छोरी जन्मेको उपलक्ष्यमा वृक्षरोपण गरी विवाहमा त्यही रुख काटेर नयाँ परिवारका लागि फर्निचर उपहार दिने चलन विद्यमान छ ।

किटी, राजकुमारी र महारानी वृक्षका रुपमा परिचित पाउलोनियाको खेती एक हजार वर्ष पहिले जापान र कोरियामा सुरु गरिएको मानिन्छ भने उन्साइसौं शताब्दीसम्म आइपुग्दा यसको खेती अमेरिका, यूरोप र अस्ट्रेलिया महादेशमा फैलिइसकेको बुझिन्छ । रासस

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*