timthumb-phpजिल्ला पशु सेवा कार्यालयले सञ्चालन गरेको ‘घाँस विकास’ कार्यक्रमले किसानलाई व्यावसायिकतातर्फ उन्मुख गराएको छ।
घाँस उत्पादनलाई प्राथमिकता दिएर अनुदानमा विभिन्न जातका घाँसका बिउ वितरण गर्न थालेपछि व्यावसायिक घाँस खेतीमा किसानको आकर्षण बढ्दो छ।
विसं २०३८ देखि सुरु भएको ‘घाँस विकास’ कार्यक्रम यतिबेला किसानको आयआर्जनको माध्यम बनेको छ । दुई नगरपालिका र सबै गाविसका किसानले सामूहिक तथा व्यक्तिगतरुपमा व्यावसायिक घाँस खेती गरेका छन्।
यहाँ २७ हेक्टरमा वर्षे, दुई हजार ८७० हेक्टरमा बहुवर्षे र ३४ हेक्टर क्षेत्रफलमा हिउँदे घाँस खेती गरिन्छ । निजी जग्गामा एक हजार ४०४, सामुदायिक कबुलियती वन क्षेत्रमा ९९३, सामुदायिक चरन र बाटो क्षेत्रमा २१३ र सामुदायिक वन तथा नहर क्षेत्रमा २२३ हेक्टर क्षेत्रफलमा व्यावसायिक घाँस खेती गरिएको छ।
वर्षे घाँस ९१ हजार ३७७, हिउँदे घाँस ९५६, बहुवर्षे घाँस ३८ हजार ७८०, डाले घाँस ३४ हजार ५४०, वनजङ्गलबाट ७८ हजार ४७५ र कृषिजन्य उपपदार्थबाट ७३ हजार ६३५ मेट्रिकटन घाँस उत्पादन हुने गरेको पशु विकास अधिकृत चन्द्रबहादुर रानाले बताए।
जिल्लाका तीन लाख ६७ हजार ६७ पशुका लागि तीन लाख ७० हजार ९७३ मेट्रिकटन ड्राइमेट गरेर राखेको घाँस पशुआहारका लागि आवश्यक रहेको कार्यालयको तथ्याङ्क छ। ४५ समूहका ६०० किसान व्यावसायिक घाँस खेतीमा लागेका छन्।
कार्यालयले किसानलाई स्टाइलो, मोलाटो, पासपलम, सम्भासेटेरियालगायत घाँसका बिउ अनुदानमा उपलब्ध गराउँदै आएको वरिष्ठ पशु विकास अधिकृत तुल्सीराम भण्डारीले बताए।
फोक्सिङकोटको झोकेदी महिला कृषक समूहले दुई लाख, तानसेनको घाँस विकास महिला काजीपौवा समूहले डेढ लाख, रामपुरको नवदुर्गा महिला घाँस विकास समूहले डेढ लाख र मदनपोखराको बेलगैरा घाँस समूहले ७० रुपैयाँ हजार घाँस बिक्रीबाट वार्षिक आम्दानी लिन सफल भएका छन्।
घाँसबाट राम्रो आम्दानी भएपछि महिलाहरुको आम्दानीको स्रोत घाँस खेती बनेको छ । “जग्गा बाँझो भयो भन्न नपर्ने, भिरालो उच्च भेगमा घाँस लगाएर मनग्गे आम्दानी लिन सकिने हुँदा घरखर्च चलाउन सजिलो भएको छ”–रामपुरकी भगवती बोटेले भनिन्। रासस
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*