सूर्य थापा

‘समृद्ध नेपालः सुखी नेपाली’को उद्घोष गरेको पार्टीको हैसियतले नेकपा एमालेको घोषणा पत्रलाई पार्टी पंक्तिले मात्र होइन, आमजनताले पनि प्रतीक्षा गरिरहेका छन् । एमालेले मुलुकको सम्बृद्धिका लागि पर्यटनलाई प्रमुख आधार मानेको छ । पर्यटनमा अब निर्वाचित हुने स्थानीय तहका पदाधिकारीले साँच्चिकै ध्यान दिए भने देशको स्थिति कायापलट हुन सक्छ ।

विशेष दृष्टान्त
· सगरमाथाको प्रथम सफल आरोहण (२९ मे १९५३) पश्चात् पर्यटकीय विकासको ढोका खुलेको खुम्बु क्षेत्रको दिनचर्या नै पर्यटनसँग आबद्ध हुनपुगेको छ । नाम्चे गाविसका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाको नेतृत्वमा २०५४ सालपछि अघि बढाइएको योजनाबद्ध र व्यवस्थित विकास प्रक्रियाका कारण नाम्चे बजार एउटा युरोपेली शहरजत्तिकै समृद्ध बन्न पुगेको छ । सामुदायिक बिजुली, सामुदायिक खानेपानी, व्यवस्थित दमकल सेवा, स्तरीय अंग्रेजी शिक्षा, नमूना संरक्षण प्रयास र भूमिगत तर प्रणालीले गाउँको समग्र विकास प्रक्रिया नमूना बनेको छ । हाल नाम्चे बजार प्रतिव्यक्ति आय ८ हजार अमेरिकी डलर रहेको छ । विपन्न एउटा गाउँलाई पर्यटनको विकासमार्फत् ‘मोडल’ बनाउन सकिने यो सबै स्थानीय तहका लागि एउटा चहकिलो दृष्टान्त हो ।

·सहिद स्मृति पार्क-हेटौंडा, २०४९ र २०५४ मा नगरप्रमुख निर्वाचित भएपछि डोरमणि पौडेलको नेतृत्वमा शून्यबाट थालिएको नमूना प्रयास थियो । हाल वार्षिक रुपमा ६ लाखभन्दा बढी आन्तरिक र बाह्य पर्यटकहरु यहाँ ओइरिन्छन् । बुटवलस्थित मणिमुकुन्द सेन पार्क- अर्को यस्तै दृष्टान्त रहेको छ, जो बुटवल नगरपालिका प्रमुख भोजप्रसाद श्रेष्ठको नेतृत्वमा यस्तो बनेको सर्वविदितै छ ।

१. पूर्वाधार निर्माण-गन्तव्य विकास र प्रबर्द्धन नेपालमा पर्यटन क्षेत्रको विकासको मुख्य प्राथमिकतामा समावेश हुनुपर्दछ । यस अभिप्रायले नयाँ-नयाँ गन्तव्यको पहिचान गरी सुविधायुक्त सडक, स्वच्छ खानेपानी, बिजुली, स्वास्थ्य चौकी, सुरक्षा पोष्ट, आवास र खानपानको उचित प्रबन्ध मिलाउन सरकार र निजी क्षेत्रले सहकार्य गर्नु अत्यावश्यक छ ।

२. पर्यटन क्षेत्रका होटल, रिसोर्ट, ट्राभल/टूर, पदयात्रालगायत हरेक क्षेत्रमा दक्ष र गुणस्तरीय जनशक्तिको अत्यन्त अभाव छ । दक्ष जनशक्तिको अभावमा यस क्षेत्रको सेवाप्रवाह नै कमजोर र कामचलाउ हुनपुगेको छ । यस स्थितिलाई मध्यनजर गरी अनुसन्धानमूलक र अन्तर्राष्ट्रिय शिक्षामा जोड दिंदै दक्ष जनशक्तिको उत्पादन गर्न, स्वदेश र विदेशमा रहेको माग परिपूर्ति गर्न र सिंगो नेपाली पर्यटन व्यवसायलाई अन्तर्राष्ट्रिय गुणस्तरयुक्त बनाउन-पर्यटन विश्व विद्यालयको स्थापना जरुरी भएको छ । नेकपा (एमाले)ले यस आवश्यकताको अगुवाई गरी अब ‘गरेर मात्रै होइन, ‘पढेर’ र ‘गरेर’ पर्यटन क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन र उपयोगको आवश्यकता पूरा गर्नसक्नुपर्दछ ।

३. स्थानीय तहहरूले आ-आफ्नो भौगोलिक क्षेत्रफलमा अवस्थित राष्ट्र निर्माण र अंग्रेज साम्राज्यवादसँगको भीषण लडाईंका क्रममा निर्मित गढीहरूः सिन्धुलीगढी, उदयपुरगढी, पर्सागढी, मकवानपुरगढी, नुवाकोटगढी-जितगढी, ढुंगेगढी, अमरगढी आदिको ऐतिहासिक गौरवगाथा कायम गर्ने हिसाबले पूर्वाधार निर्माण र पर्यटकीय गन्तव्यका रुपमा प्रवर्द्धन गर्नेछन् । यस कार्यमा आवश्यकताअनुसार नेपाली सेनालाई पनि संलग्न गराइनेछ ।

४. एकीकृत नेपाल निर्माणको बेला-खासगरी बाइसे-चौबीसे राज्यहरूको समयमा बनेका खलंगा, कोट, दुर्ग र किल्लाआदिको संरक्षण गरी स्थानीय गन्तव्यका रुपमा प्रवर्द्धन गरिनेछ ।

५. हरेक गाउँपालिकामा पर्यटकीय पूर्वाधार निर्माणका निम्ति एकीकृत प्रयास गरिनेछ । सुन्दर हरियालीयुक्त उद्यान (पार्क), भ्यूप्वाइन्ट, प्रमुख जातीय/भाषिक समुदायको रहन-सहन, ऐतिहासिक र साँस्कृतिक वैभव झल्काउने संग्रहालय, उपहार बिक्री कक्ष, सुविधासम्पन्न सभा हल -कम्तिमा १,५०० जनाको क्षमतायुक्त), पोखरी, तालतलैया र पोखरीको संरक्षण, सामुदायिक आवासगृह, होमस्टे, रिसोर्ट र स्थानीय विशेषता र विशिष्टता झल्काउने खानपान र संस्कृति प्रदर्शनसमेतको पूर्वाधार निर्माण गरिनेछ ।

६. हरेक स्थानीय तहका मन्दिर, मस्जिद, गुम्बा, गिर्जाघर आदिको संरक्षण, मर्मत-सम्भार र प्रचार-प्रसार गरिनेछ । यसबाट पर्यटकहरूको आवागमन र बसाई बढाउन ध्यान दिइनेछ ।

७. राणा शासनको अन्त्यका लागि जीवन आहुति दिने चार अमर सहिदहरूको बलिदानपश्चातका सबै प्रतिनिधिमूलक सहादतको गाथालाई जिवन्त र पे्ररणादायी बनाउने प्रयासमा स्थानीय निकायहरू योजनाबद्धरुपमा जुट्ने छन् । सुखानी, छिन्ताङ, भीमान, पिस्कर, दाङ, भंगेरी-रामेछाप, ओखलढुंगा, दशरथपुर-सुर्खेतल र म्याग्दीगायतका स्थानहरूलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न अत्यावश्यक पूर्वाधार निर्माण गरिनेछ ।

८. नेपालमा २० लाख पर्यटक पुर्‍याउने लक्ष्यसमेत अलपत्रजस्तै परिरहेकोे आजको स्थितिमा पाँच वर्षभित्र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल (निजगढ) काठमाडौं-निजगढ द्रूतमार्ग, काठमाडौं, पोखरा र भैरहवा विमानस्थलको स्तरोन्नति र विस्तारमार्फत् हवाई यातायातलाई सुव्यवस्थित गरिनेछ । एक प्रदेशः एक अन्तर्राष्ट्रिय विमानस्थल, एक जिल्ला एक राष्ट्रिय विमानस्थल, एक महानगर/उपमहानगर र प्रमुख नगरमा हवाईसेवाको प्रबन्ध र एक गाउँपालिका/वडाः एक विण्ड फ्ल्यागसहितको हेलिप्याड (पर्यटक सेवा तथा सुरक्षा र उद्धारको लागि समेत) को प्रवन्ध मिलाइनेछ । आगामी पाँच बर्षभित्र २० लाख र १० बर्षभित्र ५० लाख पर्यटक भित्र्याउने गरी पूर्वाधार तयार र प्रबर्द्धन गरिनेछ ।

९. पर्यटन विकासलाई मध्यनजर गरी केरुङ-काठमाडौं-पोखरा-लुम्बिनी तथा पूर्व-पश्चिम दू्रत रेलवे सेवा निर्माण गरिनेछ । काठमाडौं उपत्यकाको चक्रपथमा ‘विद्युतीय ट्रम्प’ छिटोभन्दा छिटो सञ्चालन गरिनेछ । पर्यटकीय गन्तव्यमा केबुलकार निर्माण गरिनेछ ।

१०. कम्तिमा प्रदेशमा १-१ वटा डिलक्स र २-२ वटा पाँचतारे होटल, प्रत्येक प्रदेशमा अन्तर्राष्ट्रियस्तरका २ वटा निजी र ३ वटा सामुदायिक होमस्टेको विकास र सञ्चालन गरिनेछ । होमस्टेहरू आधुनिक र साँस्कृतिक मानक निर्धारण गरी सांस्कृतिक रुपमा विशेष ढंगले व्यवस्थित गरिनेछ । साथै, स्पष्ट कानुनी प्रबन्ध र अनुगमनद्वारा होमस्टेहरूको सेवालाई गुणस्तरीय बनाइनेछ । दीर्घकालीन रुपमा पर्यटकीय सम्भावना रहेका हरेक गाउँ/शहरका घरहरुलाई पर्यटकीय गुणस्तरका होमस्टेका रुपमा रुपान्तरण गरिनेछ ।

११. एक गाउँ/नगरपालिकाः एक गन्तव्य, एक पदयात्रा (ट्रेकिङ) मार्ग, स्तरीय वनवाटिका, चिडियाघर, र नमूना प्रतिक्षालय आदिको प्रबन्ध गरिनेछ ।

१२. जलयात्रा (र्‍याफ्टिङ), बञ्जिजम्पिङ र प्याराग्लाइडिङको लागि उपयुक्त नदीहरू र बस्तीमा साहसिक पर्यटनको पूर्वाधार विस्तार गरिनेछ । कम्तिमा प्रत्येक प्रदेशमा १/१ वटा अन्तर्राष्ट्रिय स्तरका पर्यटकीय आकर्षणका र्‍याफ्टिङ, बन्जिजम्पिङ र प्याराग्लाइडिङ केन्द्रको स्थापना र सञ्चालन गरी आन्तरिक र बाह्य पर्यटकहरूलाई आकर्षित गरिनेछ ।

१३. प्रत्येक गाउँ, नगर र उप/महानगरीय वडाहरूमा सुविधायुक्त सूचना केन्द्र स्थापना गरिनेछ । सूचना केन्द्रमार्फत् सम्बन्धित स्थानीय तहका पर्यटकीय सम्भावना, गन्तव्यहरूको जानकारी र प्रचार-प्रसार गरिनेछ । यस निम्ति तालिम प्राप्त कम्तिमा १-१ जना पर्यटक पदप्रर्दशक (गाइड)को व्यवस्था मिलाइनेछ ।

१४. सम्भाव्यताको आधारमा परम्परागत भेंडीगोठ, चौंरीगोठ तथा आधुनिक कृषि फर्म, गाई फर्म आदिको विकास गरी पर्यटकीय उपभोगका सरसामानमा आत्मनिर्भर बन्दै विदेश निर्यात गरिनेछ ।

१५. कञ्चनजंघा, मनास्लु, तल्लो डोल्पो, नार-फू, हुम्लालगायतका क्षेत्रहरूलाई अन्य पदयात्रा क्षेत्र (सगरमाथा, लाङटाङ, अन्नपूर्ण र रोलवालिङ) सरह खुला र नियमित गरिनेछ । उपल्लो मुस्ताङ, उपल्लो डोल्पोसम्म पदयात्रा गर्ने तथा दामोदर कुण्ड जाने पर्यटकहरूलाई ट्रेकिङ र हेलिकोप्टर उडानबाट जान सरल अनुमति प्रक्तिया र शुल्कको प्रबन्ध मिलाइनेछ ।

१६. संसारभरिका हिन्दूहरूको लागि ‘अन्तर्राष्ट्रिय पशुपति सर्किट’/नेपालभित्रै पाथिभरा, बराह क्षेत्र, पशुपतिनाथ, मनकामना, मुक्तिनाथ, स्वर्गद्वारी र मालिकार्जुन गरी सातवटा क्षेत्रलाई ‘सातधाम’को रुपमा प्रबर्द्धन गरिनेछ ।

१७. अन्तर्राष्ट्रिय बुद्धिस्ट सर्किट र आन्तरिक बुद्धिष्ट सर्किटमार्फत् लुम्बिनी भ्रमणमा आउने पर्यटकहरूको आवागमन बढाउने र बसाई लम्ब्याउने कार्य गरिनेछ । साथै, लुम्बिनीमा अन्तर्राष्ट्रिय सुविधायुक्त ‘बर्थिङ सेन्टर’ निर्माण गरी बुद्धको जन्मस्थलमा नवजात शिशु जन्माउन संसारभरिकै बौद्धमार्गी पर्यटकहरूलाई आकर्षित गरिनेछ ।

१८. एक प्रदेशः एक चिडियाखाना निर्माण र विस्तार गरिनेछ । प्रत्येक सामुदायिक वनलाई वन्यजन्तु संरक्षण केन्द्रका रुपमा संचालन र व्यवस्थित गरिनेछ ।

१९. प्रदेश नं. २ मा जनकपुर, सिम्रौनगढ र सलहेसको एकीकृत पर्यटन विकास तथा कोशी टप्पु र कोशी नदीमा नौकाबहारको प्रवन्धमार्फत् आन्तरिक र बाह्य पर्यटकहरू आकर्षित गरिनेछ । जनकपुरस्थित विवाह-मण्डपलाई देशभरिकै सुविधायुक्त र व्यावसयिक गन्तव्यका रुपमा प्रवर्द्धन र संचालन गरिनेछ ।

२०. गोल्डेन ट्रयाङ्गलः काठमाडौं-पोखरा-सौराहालाई अझ व्यवस्थित गरी नयाँ ‘कल्चरल ट्रयाङ्गलः लुम्बिनी-रुरुरेसुङ्गा-स्वर्गद्वारी-मुक्तिनाथ’ र वेस्ट ट्रयाङ्गलः ठाकुरद्वारा-रारा-खप्तड (शुक्लाफाँटासमेत)को प्रवर्द्धन, पूर्वाधार निर्माण र बजारीकरणमार्फत् पर्यटकीय गतिविधि तीब्र पारिनेछ ।

२१. नेपाल पर्यटन बोर्डलाई प्रत्येक प्रदेशसम्म विस्तार गर्ने गरी पुनःसंरचना गरिनेछ । साथै, विभिन्न परिषद, कोष, विकास समितिहरुलाई राज्यको संघीय पुनःसंरचना र स्थानीय तहको नयाँ संरचनाबमोजिम पुनःव्यवस्थित गरिनेछ ।

२१. नारायणहिटी दरबार संग्रहालयलाई नेमुनिदेखि ज्ञानेन्द्रसम्मको कालखण्डका गोपाल, किराँत, लिच्छवी, मल्ल र शाह शासनको झाँकी-झलक प्रस्तुत गर्ने ऐतिहासिक संग्रहालयका रुपमा विकास गरी संसारभरिका पर्यटकहरुका लागि खुला गरिनेछ ।

२२. मुलुकका १२५ जातजाति र १२३ भाषाभाषिको रहनसहन, भाषा, संस्कृतिको संरक्षण, अध्ययन, अनुसन्धान र प्रचार-प्रसारको लागि अलग-अलग जातीय र सांस्कृतिक संग्राहलयहरु निर्माण गरिनेछ ।

२३. पर्यटकीय होटल, रिसोर्ट, कफी शप, होमस्टे आदिमा ९५ प्रतिशत नै उपभोग्य सामग्रीमा परनिर्भरताको स्थिति विद्यमान छ । यस स्थितिको अन्त्य गर्न ‘पर्यटकका लागि नेपाली बस्तु’को उत्पादन अभियानपार्फत व्यवसायिक र बेमौसमी उपभोग्य सामग्रीमा देशलाई आत्मनिर्भर बनाउने प्रक्रिया सञ्चालन गरिनेछ । र, कृषि पर्यटनको क्षेत्रमा उत्पादनका यस्ता अनेकन् नयाँ गन्तव्यहरुको विकास गर्ने अध्याय थालिनेछ ।

२४. भूकम्पका कारण क्षतिग्रस्त ऐतिहासिक, साँस्कृतिक सम्पदाहरुको तीब्र पुनः निर्माण गरिनेछ । बौद्धनाथ स्तुप पुनः निर्माण भइसकेको छ । ‘मेरो धराहरा म आफैं बनाउँछु’ अभियानलाई सार्थक रुपमा सम्पन्न गरिनेछ । समय-सीमा निर्धारण गरी अरु सबै साँस्कृतिक सम्पदा- मन्दिर, देवल, चैत्य, गुम्बा, चर्च र विश्व सम्पदाहरुको निर्माण कार्य सम्पन्न गरिनेछ । र, पर्यटकहरुका लागि दुरुस्त रुपमा प्रस्तुत गरिनेछ ।

२५. पर्यटन व्यवसायीहरुको लागि स्थानीय सरकारहरुमार्फत लगानीमैत्री वातावरण, लगानीमा हिस्सेदारी र अनुदान तथा कर छुटका विभिन्न प्याकेज र प्रस्तावहरु तयार गरी कार्यान्वयन गरिनेछ ।
(पार्टीको घोषणापत्रमा सामेल गर्न एमाले केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख थापाले दिएको सुझाव)

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*