बागलुङ
काठेखोला गाउँपालिका–४ तङ्ग्रामका किसानले माछापालनबाट लाखौँ रुपैयाँ कमाउँदै आएका छन्।
चार किसान मिलेर चार वर्षअघि सुरु गरेको सामूहिक माछापालन व्यवसायले यथेष्ट आम्दानी दिएको हो। अघिल्लो वर्ष चार लाखको माछा बिक्री गरेको नमुना माछा तथा बाख्रापालन समूहका अध्यक्ष रनबहादुर थापाले बताए।
थापासँगै बलबहादुर, पहलमान र लालसिंह थापाले १० लाखको लगानीमा माछापालन सुरु गरेका थिए। “वर्षमा ८०० किलोसम्म माछा बिक्री गर्छौं”, समूहका अध्यक्ष थापाले भने– “बर्सेनि माछापालनलाई विस्तार गर्दै लगेका छौँ ।” दस रोपनी क्षेत्रफलमा आठ वटा पोखरी निर्माण गरेर माछापालन गरिएको उनको भनाइ छ।
सुरुमा पोखरीमा ३० हजार भुरा माछा छोडिएकामा गत वर्ष ३५ हजार भुरा माछा छोडिएको थियो । यो वर्ष एक लाख भुरा माछा छोडने तयारी भएको समूहका सदस्य बलबहादुर थापाले जानकारी दिए। “यो वर्षदेखि माछाको नर्सरी पनि बनाउने योजनामा छौँ”, थापाले भने– “अबदेखि माछाका भुरा पनि बेच्छौँ ।”
वार्षिक एक लाख भाडामा तङ्ग्राम धैरेनीमा लिएको २० रोपनी जग्गामा माछापालनसँगै बाख्रा, कुखुरा र हाँस पनि पाल्न थालिएको छ। पोखरीमा भुरा छोडेको छ महिनामा माछा बिक्रीका लागि तयार हुने गरेको र प्रतिकिलो ५००मा माछा बिक्री हुँदै आएको सदस्य थापाले बताए।
पोखरीमा उत्पादित सबै माछा गाउँमै खपत हुने गरेको छ । “माछापालन सफल भएको छ, यसलाई अझै विस्तार गर्ने हाम्रो योजना छ” – थापाले भने। पोखरीमा ग्रासकार्प, कमन, नैनी, रहु, भ्याकुर जातका माछा छ । समूहले माछापालनका लागि जिल्ला कृषि विकास कार्यालयबाट एक लाख २० हजार अनुदानसमेत पाएको छ।
 २५÷२५ हजार सेयर रकम राखेर माछापालन व्यवसाय सुरु गरिएकामा अहिले उक्त रकम बढाएर रु एक लाख पुर्याइएको छ। सुरुमा केही सामूहिक ऋण लिनुपरे पनि अहिले व्यवसाय नाफामा रहेको जनाइएको छ । भुरा टाढाबाट लिनुपर्ने, महँगो भाडा तिनुपर्ने, भनेको माछा नपाइने, हावापानी नमिल्दा भुरा मर्नेजस्ता समस्या किसानले व्यहोर्दै आएका छन्।
समूहले वार्षिक ५० लाखसम्म कमाउने लक्ष्यका साथ यो व्यवसायलाई विस्तार गर्ने योजना रहेको जनाएको छ। पछिल्लो समय बागलुङमा व्यावसायिक माछापालनतर्फ किसानको आकर्षण बढ्दो छ। जिल्ला कृषि विकास कार्यालयका अनुसार अहिले जिल्लामा सयभन्दा बढी रोपनी क्षेत्रफलमा व्यावसायिक माछापालन हुँदै आएको छ। रासस
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*